जयललितालाई श्रद्धाञ्जली दिन चेन्नईमा उर्लिए लाखौंको भीड


२१ मंसिर । चार पटकसम्म दक्षिण भारतीय राज्य तामिलनाडूको मुख्यमन्त्री बनेकी बहालवाला मुख्यमन्त्री जयराम जयललितालाई श्रद्धाञ्जली दिन अहिले पूरै चेन्नई सहरमा उनका समर्थक र शुभचिन्तकहरु ओइरिएका छन् । उनको सोमबार राति ११ः३० मा निधन भएको थियो ।

दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहेकी जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको थियो । गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी जयललितालाई आइतबार हृदयघात भएको थियो । हृदयघातको कारण उनको अवस्था गम्भीर भएपछि अपोलो अस्पतालको सघन उपचार केन्द्रमा सारिएको थियो ।

हृदयघातपछि गरिएको शल्यक्रियापश्चात पनि उनको अवस्था गम्भीर नै रहेको र सोमबार राति निधन भएको थियो । चेन्नइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा मुख्यमन्त्री जयललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको थियो ।

उनी आफ्नो सफल चलचित्र नायिकाको भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले तामिल भाषाबाट बनाइएका करिब १ सय ५० वटा चलचित्रमा अभिनय गरेकी थिइन् । जयललिताले १३ बर्षको उमेरबाट चलचित्रमा अभिनय गर्न सुरु गरेकी थिइन् ।

आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उनले सन् १९८० को सुरुबाट नै राजनीतिक जीवन सुरु गरेकी थिइन् । तामिल नाडू राज्यको अतिप्रिय अम्माको निधनबाट सारा तामिल नाडू नै वियोगमा डुबेको छ । पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उनी तमिलनाडूको मुख्य मन्त्रीको पदमा थिए । सन् २०१४ मा जयललितालाई भष्टाचारको मुद्दामा दोष ठहर गरिएको र पछि उनले सफाई पाएपछि मुख्यमन्त्रीमा नै फर्किएकी थिइन् ।

जयललिताको निधनपछि तामिल नाडू राज्यमा सात दिनको शोकको घोषणा गरिएको छ भने बिद्यालय र विश्वबिद्यालयमा तीन दिनको विदाको घोषणा गरिएको छ । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले गहिरो दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्