जलवायु परिवर्तनका कारण हिमालहरु कालापत्थरमा परिणत


६ मङ्सिर । पछिल्ला वर्षमा बढिरहेको जलवायु परिवर्तनको असरका कारण चाँदीजस्तै टलक्क टल्केका हिमाल कालापत्थरमा परिणत भएका छन् । जलवायु परिवर्तनको प्रमुख असर हिमाली शृङ्खलामा पर्ने गरेका कारण त्यसको प्रत्यक्ष मारमा नेपालका हिमाल बर्सेनि पर्दै गएका हुन् ।

जलवायु परिवर्तनसँगै हिमालमा हिउँ पग्लन थालेको छ भने हिउँ पर्ने क्षेत्रमा हिउँको साटो पानी पर्न थालेको छ । जलवायु परिवर्तनको असरसँगै हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागस्थित एक बस्ती पानीको चर्को अभावसँगै सार्नुपरेको छ भने विगतमा हिउँले ढाकिने धेरै भूभाग कालापत्थरमा परिणत भएका छन् ।

मुस्ताङको उपल्लो भागमा विगतमा हिउँ पर्याप्त पर्ने गरे पनि पछिल्लो समयमा निकै कम पर्ने गरेको स्थानीयवासी बताउँछन् । उपल्लो मुस्ताङका ६ गाविस लोमान्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ र घमीमा गत वर्ष अत्यन्त कम हिउँ परेको थियो । हिउँ तथा पानी कम पर्न थालेपछि पानीको अभावसँगै छोसेर–९ स्थित सामजुङ बस्ती पानीको खोजीमा उक्त गाविसकै नमासुङ गाउँमा सरेको स्थानीयवासी तोप्के गुरुङले जानकारी दिए ।

उनका अनुसार सामजुङमा दस–बाह्र वर्षअघिसम्म पानीको मुहान भए पनि पछिल्ला वर्षमा हिउँ पर्ने क्रम घट्दै गएर मुहानै सुकेपछि पानीको अभावमा उक्त गाउँका १८ घरपरिवार तीन घन्टा टाढाको नमासुङ गाउँमा सरेका हुन् । हिउँ पर्न कम हुनुका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङ जिल्लाका हिमाली बस्ती बिस्तारै जोखिममा पर्दै गएको अर्का स्थानीयवासी कर्मा गुरुङ बताउछन् ।

“मुस्ताङको जोमसोममा मात्र नभएर उपल्लो मुस्ताङमा पनि हिउँको साटो पानी पर्न थालेको छ,” उनले भने, “विगतमा हिउँ मात्र पर्ने गरेका कारण बनाइएका माटोका घरगोठ लगायतका संरचनामा पानी पर्न थालेसँगै चुहिने लगायतका समस्या बढ्न थालेका छन् ।” उपल्लो मुस्ताङका अधिकांश सर्वसाधारणका घर तथा गोठ माटाकै प्रयोग गरी छाउने गरिएको छ । जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउमा पनि असर पारेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिए ।

जलवायु परिवर्तनको बढ्दो असर कम गर्न जिल्लाका १६ वटै गाविसमा जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्ययोजना तयार गरी त्यसलाई कार्यान्वयनमा लगिएको उनले बताए । हिमाल पग्लने क्रमसँगै नयाँ नयाँ हिमताल बन्ने क्रम बढेको छ भने बेमौसममा आउने बाढीका कारण विभिन्न बस्ती जोखिममा पर्ने गरेका छन् । पछिल्ला वर्षमा विश्वव्यापी रुपमा बढेको जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार पहाडी भेगमा ०.०६ प्रतिशतका दरले तापक्रम बढेको छ भने हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ । प्राकृतिक एवम् मानवीय दुवै कारणबाट विश्वव्यापी तापक्रम बढिरहेको बताउँदै उनले यसले पार्ने दीर्घकालीन प्रभावलाई न्यून गर्न बेलैमा लाग्नु अपरिहार्य भएको बताए । जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै जाँदा चुनौती थपिएको छ ।

केही वर्षअघि सेती नदीमा अपत्यारिलो तवरबाट हिउँदमा आएको बाढीले दुई दर्जनको हाराहारीमा सर्वसाधारणले ज्यान गुमाएका थिए । बाढीका कारण यकिन नभए पनि अनुसन्धानका क्रममा हिमताल फुटेकै कारण बाढी आएको अनुमान गरिएको छ । पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँमाथि बनेको नयाँ हिमताल जलवायु परिवर्तनको अर्को उदाहरण हो । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नाम राखेका छन् ।

नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिने गरेको भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइँमा छ । यो ताल पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो तालसम्म पुग्न सिक्लेसबाट एक दिनको पैदलयात्रा गर्नुपर्छ । सिक्लेस पोखरादेखि ३९ किलोमिटरको दूरीमा पर्छ । नयाँ हिमताल हेर्न सिक्लेस आउने केही पर्यटक कफुचे ताल पनि पुग्ने गरेको सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङले बताए ।

उनका अनुसार हिमालको काखमा अवस्थित सिक्लेस गाउँमा आएर जलवायु परिवर्तनको असरबारे अध्ययन तथा अनुसन्धान गर्न आउने क्रम पनि पछिल्लो समयमा बढिरहेको छ । जलवायु परिवर्तनको असरसँगै हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदी हिमालमाथि उक्लिरहेको तथ्य पछिल्ला वर्षमा वैज्ञानिकले उजागर गरेका छन् । हालको विश्वमा मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने भएकाले जलवायु परिवर्तनको प्रभावका कारण हिमाल पग्लने अवस्थालाई गम्भीरताका साथ लिनु आवश्यक भएको छ ।

नेपालमा दुई हजार तीन सय २३ वटा हिमताल रहेका छन्, जसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रबाट हिउँ हराउँदै जानु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । मौसमविद्ले गरेको अनुसन्धानलाई आधार मान्दा अबको केही वर्ष्भित्रै नेपाललाई विश्वसामु चिनाएका हिमाल चट्टानका पहाड हुनेछन्, ती हिमालका वरिपरि रहेका हिमताल फुट्नेछन् र हिमालका फेदीमा रहेका बस्ती त्यसको मारमा पर्नेछन् । जलवायु परिवर्तनकै कारण हिमालका काखमा रहेका धवलागिरिका जिल्ला सदरमुकाम र आसपासका क्षेत्र खतराको सूचीमा रहेको अनुमान धेरै मौसमविद्ले गर्न थालेका छन् ।
वासुदेव पौडेल

प्रतिक्रिया दिनुहोस्