जसले मास्क बाँडे, उसैबाट डर


उदयपुर, ११ बैसाख । कोरोना भाइरसविरुद्ध सतर्कताका लागि भुल्के सामुदायिक वन उपभोक्ता समूहले मास्क सिलाउन लगाएर आफ्ना सदस्यका घरघरै बाँड्ने निर्णय गर्‍यो । मास्क सिलाउने जिम्मा आफ्नै गाउँका टेलरलाई दिइयो, जो केही समयअघि गाईघाटमा टेलरिङको काम गर्दै आएका थिए ।

चैत १९ मा समूहले मास्क बनाउन ठेक्का दिएपछि ४१ वर्षीय ती युवकले एक जना सहयोगी राखेर आफ्नो भुल्केस्थित घरैमा छिटै मास्क तयार मात्रै पारेनन्, समुदायमा परिवारै मिलेर बाँडे ।

अहिले उनैले सिलाएको मास्क सितैं पायौं भनेर खुसी साथ लगाएकाहरू डराएका छन् । कारण, उनी र उनकी श्रीमतीमा कोभिड–१९ पोजेटिभ पाइयो । मस्जिदका जमाती र भुल्केका गाउँलेमा उनीसहितका २४ जना विराटनगरमा उपचाररत छन् ।

‘समूहले मास्क सिलाउने ठेक्का लोकललाई दिएको हो। हाम्रै भुल्केका मुस्लिम समुदायका टेलर हुन्’, समूहकी सचिव दिलमाया राउतले भनिन्, ‘प्रतिगोटा ४ रुपैयाँका दरले ८ सय २० पिस मास्क सिलाउने ठेक्का दिएका थियौं । हामीले त्यो मास्क समूहको सदस्य ३ सय २० घरधुरीलाई २–२ वटाको दरले बाँडेका थियौं ।’

बजारमा टेलरिङ व्यवसाय गरेकाले चिनिएका उनी सपरिवार संक्रमित भएको खुलेपछि भयले परीक्षण गराउन चाहने बढेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित पुष्टि गरेको ११ जनामध्ये एउटै घरमा बसेका बाबु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाइँ र १८ वर्षीय भान्जा पनि छन् । उक्त घरका छोरा भारतको उत्तर प्रदेशमा उर्दू भाषा पढ्न गएका थिए ।

उनी लकडाउन सुरु हुनुभन्दा चार दिनअघि चैत ७ गतेमात्रै भुल्केस्थित घर आएको स्थानीयले बताए । गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएकी बैनी लकडाउन लम्बिँदा व्यापार नहुने र बजारको घरमा बस्न अप्ठ्यारो हुने भन्दै श्रीमान र छोरासहित माइती आएकी थिइन् । बजारभन्दा गाउँ सजिलो भनेर उनीहरू भ्ल्के गएको गाईघाटका छिमेकीले बताए ।

मास्क सिलाएर बाँड्नेका दम्पती नै संक्रमित रहेको थाहा पाएपछि मास्क लगाउने घरधुरीका सबै परिवार त्रसित छन् । ‘मास्क मुस्लिम बस्ती र बाहिरका पनि धेरैलाई बाँडिएको थियो’, स्थानीय शम्भु थापाले भने, ‘सामुदायिक वन उपभोक्ता समूहले तिनैलाई दिएको रहेछ, उनैले सबै मास्क अर्का एकजना सहयोगी राखेर तयार गरेका थिए ।’

साढे तीन किलोमिटर वरपर छ उदयपुर सदरमुकाम गाईघाट र २४ जना संक्रमित भेटिएको गाउँ भुल्के । आसपासका सबै गाउँको मुख्य बजार गाईघाट नै हो । गाउँमा फलेका कृषिउपज बेच्नेदेखि ज्यालाबनी गर्न र सानोतिनो खुद्रे व्यवसाय गर्न भुल्केबाट गाईघाट आउजाउ नगर्ने कोही छैनन् । संक्रमितको संख्या बढेसँगै भुल्के र आसपासको क्षेत्रमा त्रास छँदैछ, गाईघाटका बासिन्दा पनि डराएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्