जाँदाजाँदै पर्यटन मन्त्री पोखरेलले भने–‘विमानस्थल फेर्न होइन हेर्न आए जस्तो भयो’


१८ साउन। पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा थुप्रै कार्यहरु गर्नैपर्ने भए पनि गर्न नसकेको स्वीकार गरेका छन् ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको पर्यटनमन्त्रीको कार्यकालको समीक्षा विषयक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले यस्तो स्वीकार गरेका हुन् । ‘मैले पर्यटनका क्षेत्रमा धेरै गर्ने सपना बुनेर आएको थिएँ,’ उनले भने, ‘तर, मेरो कार्यकालमा जे गरें अत्यन्त थोरै मात्र गरें । म यो क्षेत्रलाई हेर्न होइन फेर्न आएको भनेको थिएँ, सोचेअनुरुप फेर्न सकिन ।ʼ

उनले आफूले गरेका धेरै कामहरु मध्ये नेपाल बौद्धधर्मालम्बीहरुको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नुलाई सबै भन्दा ठूलो उपलब्धी भएको चर्चा गरे । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दीर्घकालिन कृषि रणनीति तयार पार्ने कामलाई पनि उनले कार्यकालको उपलब्धी भएको ठाने ।

‘पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाइ सोचेअनुरुप पर्यटनको विकास हुन सक्दैन,’ उनले भने, एयरपोर्ट (विमानस्थल) को विषयमा सुधार गर्न नसकेकोमा भने मलाई दुःख लागेको छ । उनले फेर्न खोजेको र फेर्न नसकेको विमानस्थल नै भएको दाबी गरे । ‘तर जे जति भएको छ देखिनेगरी भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ,’ उनले भने, ‘विमानस्थलको कामप्रति म सन्तुष्ट छैन ।ʼ

विमानस्थलका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाइने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए । ‘विमानस्थल सुधार गर्ने हो भने छुट्टै अधिकारसम्पन्न निकाय गठन गरी सोही अन्तर्गत गृह, अर्थ, रक्षा र प्रहरी प्रशासनलाई पनि निर्देश गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘गृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ‘ल एण्ड अर्डर’ गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिन्छ । होइन भने झन् नाजुक बन्दै जान्छ ।ʼ

उनले नेपाल पर्वतारोहण संघ (एनएमए) प्रति लक्षित गर्दै भने, ‘अहिले एनएमएले एकलौटी ‘पीक’ व्यवस्थापनको जिम्मा पाएको छ । राजश्व उठाउने अधिकार पाएको छ । यो नै आफैंमा शुद्ध भएको छ कि छैन, म प्रश्न गर्न चाहन्छु । एउटा संस्थाले राज्यको सम्पति सबै नागरिकको अधिकार पाउनुपर्छ भन्ने होइन । सक्षम संस्थाले अधिकार पाउनुपर्छ । आबधिक टेन्डर गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्छ ।ʼ

मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामहरु सार्वजनिक गरेका थिए । सो बुँदामा २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठी सम्पन्न गरी गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गरेको, नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरी १० वर्षे सोँचसहित कार्यक्रम सुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरी पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरी पूर्वाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको लगायत विषयहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्