जानकी मन्दिर क्षेत्र तनावग्रस्त, प्रहरी चौकीलाई लक्षित गरी पेट्रोल बम प्रहार, २२ जना प्रदर्शनकारी घाइते


पाण्डे बहुचर्चित युनिटीकाण्डमा पनि मुछिएका थिए । युनिटीको धन्दा फस्टाइरहेका बेला ‘चार करोड रुपैयाँ र एउटा रेन्ज रोभर गाडी नदिएमा युनिटीको धन्दा बन्द गराउने धम्की दिँदै मोलमोलाइ गरेर पैसा असुलेको’ आरोप उनीमाथि लागेको थियो । अर्थमन्त्री हुँदा पाण्डेले पाँच करोड नगद र अन्य जिन्सी सामान युनिटीसँग लिएको आरोप स्वयं एमालेकै कार्यकर्ताले लगाएका थिए । एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले ०७० वैशाख १५ गते एमाले स्थायी समितिको बैठक चलिरहेकै बेला पार्टी अध्यक्ष झलनाथ खनाललाई एक पत्र पठाउँदै ‘पूर्व अर्थमन्त्री पाण्डेले पार्टीको नाम जोडेर युनिटीबाट करोडौँ रकम लिएकाले त्यसको पारदर्शिताको माग’ गरेका थिए । यो खबर स्वयं एमाले निकट साप्ताहिक ‘बुधबार’ले नै छापेको थियो ।
स्रोतका अनुसार युनिटी प्रकरणमै ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले कार्यकर्ता पाठकले पार्टीसमक्ष बुझाएको एक ‘अनुरोध पत्र’मा एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा पूर्वअर्थमन्त्री पाण्डे र युनिटीका चार्टर्ड एकाउन्टेन्ट कृष्ण पनेरुमार्फत एमालेलाई तीन करोड ५० लाख बुझाइएको, पाण्डे अर्थमन्त्री भएपछि पार्टीलाई सहयोग भन्दै दुईपटक ५०–५० लाख गरी एक करोड बुझाइएको र पार्टीका केन्द्रीय सदस्यहरूका लागि भन्दै ३३ थान अत्याधुनिक ल्याबटप दिइएको दाबी गरिएको थियो ।
०६७ सालमा आफू अर्थमन्त्री हुँदा पाण्डेले युनिटीसँग थप पाँच करोड र एउटा गाडी मागेको र त्यही विषयमा युनिटीसँग पाण्डेको खटपट बढेको पाठकले बताएका थिए । पाठकले पत्रमा भनेका थिए, ‘०६७ सालको पहिलो हप्तातिर तत्कालीन मन्त्री सुरेन्द्र पाण्डेमार्फत वाणिज्य मन्त्रालयलगायत बिमा समिति, राजस्व र राष्ट्र बैंकसम्म कागजात र कुरा मिलाउनुपर्ने भयो र पार्टीका लागि पाँच करोड रुपैयाँ र एउटा हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’
स्रोतका अनुसार त्यसका लागि कुराकानी गर्न पाठक पाण्डेकहाँ पुगे । तर दोस्रोपटक पाँच करोड होइन, दुई करोडसम्म दिन सकिने बताएपछि पाण्डे पाठकसँग झोँक्किएका थिए । त्यसको एक महिनापछि नै युनिटी बन्द भयो । पछिल्लोपटक मागिएको त्यो पाँच करोड पूर्वअर्थमन्त्री पाण्डेले नै पार्टीका नाममा हिनामिना गरेको हुन सक्ने पाठकको आशंका थियो र उनले त्यसबारे अध्यक्ष खनालसँग यथार्थ जान्न पाउँ भन्दै आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्