जिडिपी वृद्धिबारे अर्थविद्हरु भन्छन्, ‘यो पाहुना–प्रवृत्ति हो’


१३ वैशाख । चालु आर्थिक वर्षको कूल गार्हस्थ उत्पादन करिब ७ प्रतिशत हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको जिडिपी ६.९४ प्रतिशत हुने अनुमान गरेसँगै आर्थिक क्षेत्रमा उत्साहजनक अवस्था सिर्जना भएको छ । यो करिब दुई दशकयताकै उच्च वृद्धिदर हो ।

कसरी जिडिपी वृद्धि हुन पुग्यो त ? भूकम्पले थिल्थिलो पारेको अर्थव्यवस्था अझै तंग्रिन नसकेको स्थितिमा जिडिपी वृद्धिले उत्साह थप्नुका साथै त्यसका सकारात्मक पक्षहरु केलाउन थालिएको छ ।

अर्थविद् डा. गोविन्दबहादुर थापा कूल गार्हस्थ उत्पादन वृद्धि हुनुमा तीन चार वटा मुख्य कारण रहेको बताउँछन् । डा. थापा भन्छन्, ‘यो आर्थिक वर्षमा कृषि उत्पादनमा वृद्धि हुन पुग्यो । गएको वर्ष धान उत्पादन ५५ लाख मेट्रिक टन उत्पादन भयो । यो अरु वर्षका तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो । अरु वर्षहरु भने ५० लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुँदैनथ्यो ।’

थापाका अनुसार, वृद्धिदर हुनुमा लोडसेडिङको अन्त्यले पनि भूमिका खेल्यो । उनी भन्छन्, ‘लोडसेडिङ अन्त्य भएपछि उद्योग–कलकारखानाहरु नियमित रुपमा चल्न थाल्यो र उत्पादन बढ्न पुग्यो । उद्योग क्षेत्रको हाम्रो जिडिपीमा ५ प्रतिशत मात्र योगदान रहे पनि लोडसेडिङ अन्त्यले उत्पादन वृद्धि हुन पुग्यो ।’ त्यस्तै, काठमाडौं र बाहिरसमेत उल्लेख्य संख्यामा होटलहरु खुले र निजी क्षेत्रले लगानी बढायो । डा. थापा यी कारणहरु पनि जिडिपी वृद्धिका आधार रहेको बताउँछन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारी भने अहिलेको जिडिपी वृद्धिलाई पाहुना–प्रवृत्तिको रुपमा लिन्छन् । गएको वर्ष ०.७७ प्रतिशत मात्रै वृद्धिदर भएको हुँदा पनि यो वर्ष बढेको डा. अधिकारीको तर्क छ । उनी भन्छन्, ‘गत वर्ष ठ्याम्मै वृद्धि नहुँदा पनि यो वर्ष बढ्न पुगेको हो । त्यस्तै, मूल्यवृद्धि कम हुँदा पनि वृद्धिदर हुन्छ । भारत र नेपालमा मूल्यवृद्धि कम भएको हुँदा पनि वृद्धि भएको हो । अर्को चाहिँ राजनीतिक अस्थिरता त्यति नभएको हुँदा पनि त्यसको प्रभाव परेको मान्नुपर्छ ।’

डा. अधिकारी भन्छन्, ‘मौसममा आएको परिवर्तनले कृषि उत्पादन वृद्धि हुन पुग्यो । हामीकहाँ कृषि क्षेत्रको कुल जिडिपीमा ३६ प्रतिशत योगदान छ । खासगरी, धान र मकैको उत्पादनमा भएको वृद्धिले सकारात्मक प्रभाव पा¥यो । अर्को चाहिँ, लोडसेडिङ नहुँदा पनि त्यसले उद्योग क्षेत्रलाई टेवा पु¥यायो र वृद्धिदर हुन पुग्यो ।’

प्रतिक्रिया दिनुहोस्