जियोकको निष्कर्षः ‘निर्वाचन उत्साहजनक र शान्तिपूर्ण’


१ जेठ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले ३, ४ र ६ नम्बर प्रदेशका ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको निस्कर्ष निकालेको छ । सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको हो ।

चौतीस जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनमा छ हजार ६४२ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाता मतदान गर्न उपस्थित भई मतदान गरेको कारण अपराह्न मतदान गर्नेको चाप कम भएको थियो । चुनाव प्रसारप्रसारका क्रममा चारदिन अघि दोलखामा कुलबहादुर तामाङ र मतदानको दिन मेलुङ गाउँपालिकाको शक्तिश्वर मावि मतदान केन्द्रमा नकुल भुजेलको मृत्युको घटनालाई जियोकले दुःखद् बताएको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले समन्वयका साथ जिम्मेवारी निर्वाह गरेको पनि उक्त संस्थाले जनाएको छ । निर्वाचन आचारसंहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको र केही स्थानमा आचारसंहिता उलङ्घनका सङ्केत देखिएको पनि सो संस्थाले जनाएको छ । उम्मेदवारको सङ्ख्याको तुलनामा मतपत्र अत्यधिक ठूलो भएको, सम्बन्धित स्थानीय तहका लागि हुन गएको निर्वाचनबाट पदपूर्ति हुने पदको लागि कायम रहेको उम्मेदवारबाहेकको अप्रासङ्गिक निर्वाचन चिह्नहरु समेत समावेश गरिएको भद्दा रहेको संस्थाका अध्यक्ष हिमालयशम्शेर राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जियोकले राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका २९० गरी पर्यवेक्षक खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्