जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा गर्ने तयारीमा एमाले माओवादी


काठमाडौ, २४ वैशाख । एमाले र माओवादी केन्द्रले आन्तरिक तयारी सकेर पार्टी एकता घोषणाका लागि जेठ पहिलो साता ‘संयुक्त अधिवेशन’ बोलाउने भएका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो छलफलमा दुवै पार्टी विघटन र नयाँ पार्टी घोषणाका लागि ‘संयुक्त अधिवेशन’ बोलाउने समझदारी गरेका हुन् ।जेठको पहिलो साता संयुक्त अधिवेशन बोलाउने सहमति भइसके पनि पार्टी एकता संयोजन समितिको बैठकमार्फत मिति तोक्ने तयारी छ ।

बालुवाटारनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दशवटै तहका कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेता छनोट गरेर टुंग्याउने गरी अध्यक्षकै तहमा गृहकार्य भइरहेको दाबी गरेको छ ।
‘माओवादी केन्द्रका अध्यक्षज्यूले पनि पार्टीका तर्फबाट योग्यहरूको खाका तयार पारिसक्नुभएको छ,’ त्यसबाटै नयाँ पार्टीमा समावेश गर्नुहुनेछ, बालुवाटार स्रोतले भन्यो, ‘एमालेको तहगत संरचना रहेकाले छनोटका लागि कुनै समस्या छैन ।’
दुई अध्यक्षबीच २० वैशाखमा भएको लामो छलफलले एकतासँग जोडिएका सबै विषय टुंगो लगाएको हो । त्यस दिन ओली र प्रचण्डबीच दुईपटक छलफल भएको थियो भने एमाले नेता माधवकुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो ।

प्रतिवेदनको भाषा कसरी मिलाउने भन्नेमा समेत सहमति जुटिसकेकाले त्यसलाई लिखित रूप दिने काम मात्र बाँकी रहेको माओवादी नेता जनार्दन शर्माले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्