झागल गुरुङ र मेलवादेवीको जन्मस्थल रुम्जाटार पुग्दा…


यसपटक नेकपा (एमाले) ले ‘संविधानको कार्यान्वयनका लागि जनपरिचालन अभियान –२०७३ ‘मा प्रदेश नं.– १ ले सञ्चालन गरेका जिल्लास्तरीय कार्यक्रमहरूमा सहभागी हुने सिलसिलामा सोलु, ओखलढुंगा र खोटाङमा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्यो । यही कार्यक्रमका बीचमा एक पटक रमणीय र ऐतिहासिक महत्वको स्थल रुम्जाटार एक रात बिताइयो  । त्योसँगै एक बिहान रुम्जाटारका विभिन्न महत्वपूर्ण ठाउँहरू अवलोकन गरियो । यसक्रममा रुम्जाटारको ऐतिहासिक महत्वलाई बुझ्दै यसप्रति पुनः एक पटक गर्ववोध गरियो ।

हामी जब झागल गुरुङको जन्मस्थल मानिएको टोलमा पुग्यौं । त्यहाँ साथीहरूले सुनाउनु भए अनुसार नेपालको महान एकीकरण अभियानका प्रमुख नायक पृथ्वीनारायण शाहको पूर्वतर्फको विजयी अभियानका प्रमुख कमाण्डर झागल गुरुङ नै थिए । पूर्वतर्फको सैन्य अभियानमा झागलले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका थिए ।ishwor-pokhrel

पृथ्वीनारायणले झागलमाथि अगाध विश्वास गरेका थिए भन्ने कुरा त्यसवेलाका लडाईंका प्रसङ्गहरुमा लिपिबद्ध गरिएका दस्तावेजहरूमा समेत पढ्न पाइन्छ । नेपाली लोकगीत र संगितकी मेलवादेवी रुम्जाटारको काफलबोटमा जन्मेकी चेली थिइन् । यिनले नेपालमा मात्र होइन, भारतमा समेत प्रशिद्धि पाएकी थिइन् । साँच्चै मेलवादेवी रुम्जाटार मात्र होइन, सिङ्गो नेपालको गौरवको रूपमा सबैले सँधै–सँधै सम्झना गरिरहने छन् ।

सामाजिक सुधार अभियानका चर्चित अभियन्ता सन्त ज्ञानदिल दास नेपालको सामाजिक जागरणका नायक थिए । समाजमा विद्यमान भेदभाव, छुवाछुत , धार्मिक अन्धताको बिरोध गर्दै सामाजिक सुधार अभियानका नायक र ऐतिहासिक व्यक्तित्वका रूपमा स्थापित सन्त ज्ञानदिल दास  रुम्जाटारकै सन्तान थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिरहँदा उनलाई महत्वपूर्ण सहयोग पुर्याउने, सुझाव–सल्लाह दिने र राम्रो सद्भाव राख्ने व्यक्तिहरू थिए, हरिनन्दन उपाध्याय पोखरेल र यदुनन्दन उपाध्याय पोखरेल पनि । यी दुई भाइ पोखरेलहरू त्यसवेला त्यहाँ प्रतिष्ठित, सम्मानित र सू–संस्कृत परिवारका व्यक्तिहरू थिए । पृथ्विनारायण शाहलाई उनको अभियानमा उनीहरूले कम्पनी रूपैयाँ लगायत हरेक किसिमले सहयोग पुर्याएका थिए रे । उनीहरूले गरेको सहयोगप्रति स्वयम् पृथ्वीनारायणले औपचारिक रूपमा आभार व्यक्त गरेको प्रसङ्ग इतिहासका अभिलेखहरुमामा पढ्न र सुन्न पाइन्छ । नेपाली साहित्यमा समेत यिनीहरूको विशेष योगदान देखिन्छ ।

विगतमा, ऐतिहासिक सम्दर्भसहित  रुम्जाटाररवासीहरू आफ्ना बारेमा यहाँका आम मानिस सगर्व सम्झने गर्छन र चर्चा गर्ने गर्छन् । रुम्जाटार र रुम्जाटारवासीहरु  आफ्ना तिनै अग्रज र पुर्खाहरूको विरासतको सगर्व सम्झना गर्छन ।

यतिवेला, रुम्जाटारवासीहरु आफ्ना ती पुर्खाहरूका विचार, योगदान र व्यक्तित्वलाई कसरी चीरस्थायी बनाउन सकिन्छ भनेर सोच्न थालेका छन् । केही कामहरू गर्न थाल्दैछन् । स्मृति स्तम्भ र संग्रालयहरू निर्माण गर्ने योजनामा लागेका छन् । रुम्जाटारवासीहरूमा देखिएको यो चासो, चेतना र गतिविधिहरूलाई सकारात्मक रूपमा लिनु र अरूहरूले पनि सहयोगी हातहरू बढाउनु उचित होला ..!

प्रतिक्रिया दिनुहोस्