झापाका किसानको दुध विक्रि नभएपछि सडकमा फाले


झापा, ३ असार । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् ।
करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए।
सात वटा गाई पालेका उनले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन । “दैनिक २० लिटर दूध उत्पादन हुन्छ”, उनले भने , “यति धेरै दूध घरमै खपत हुँदैन, नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले दिने गरेका छौँ ।”
सोही स्थानका अर्का पशुपालक किसान भवानी तिम्सिनाले ऋण काढेर गाई पालेकाले दूध बिक्री नहुँदा बैंकको ऋण तिर्न धौ–धौ परेको बताए । “दैनिक २२ लिटर दूध उत्पादन हुन्छ”, उनले भने , “पहिले महिनाको ३५÷४० हजार आम्दानी हुन्थ्यो, अहिले बेहाल छ ।” शुरुमा गाईपालन गर्दा उत्साह भए पनि अहिले बिक्री नहुँदा समस्या भएकाले बताए ।

बैंकबा दुई लाख ऋण लिएर गाईपालन गर्न थालेकी लीलादेवी बानियाँले आफ्नो थातथलो उठ्ने अवस्था आएको बताइन । “दैनिक ३० लिटर दूध उत्पादन हुन्छ”, उनले भनिन , “बिक्री हुँदैन, कसरी ऋण तिर्नु ।”

दुई वर्षअघि नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले किसानको घरघरमा गएर दूध उत्पादन गर्न आग्रह गरेको र सोही अनुसार किसानले दूध उत्पादन गरे पनि अहिले संस्थाले दूध खरीद नगरेको झापा गापा–४ का किसान मदन खत्रीले बताए । “सहकारीले दूध उत्पादनका लागि ऋण दियो, शुरु–शुरुमा दूध किन्यो पनि”, उनले “अहिले हप्तामा चार दिन दूध लिन्छ, तीन दिन लिँदैन ।” सहकारीले किसानलाई दूध उत्पादन गर्न प्रोत्साहन गरे पनि हाल दूधको मूल्य कम दिने, दूध लिए पनि कम लिने गरेको बताए ।

एनएमसीले दूध खरीद गर्नुअघि भारतीय बजारमा दूध बिक्री गरिँदै आएको अर्का किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए । “एनएमसीले दूध किन्ने भनेपछि भारत दूध पठाउन छाडियो, भारतबाट आउने ग्वाला पनि आउन छाडे”, उनले भने “अहिले भारतीय बजार पनि छैन, एनएमसीले पनि दूध लिँदैन ।”

प्रतिक्रिया दिनुहोस्