टीकापुरका घटनाका अपराधीलाई उन्मुक्ति नदेऊ: एमाले


८ असोज । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले गत वर्ष भएको टीकापुर घटनामा संलग्नहरुलाई उन्मुक्ति नदिन माग गरेको छ । केन्द्रीय कमिटीको चालू बैठकबाट विशेष प्रस्ताव पारित गर्दै मुद्दा फिर्ता लिने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबारको बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,

‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन–धनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै छ । लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने गरी भएका ती घटनाका सन्दर्भमा गरिएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्ति–सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्नेतर्फ नेकपा (एमाले) केन्द्रीय कमिटीको गम्भीर ध्यान गएको छ । त्यस्ता निर्णय गर्नुपूर्व देशको संविधान, कानुन, लोकतन्त्रका मूल्य र मान्यताको अनुशरण गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।’

गत वर्ष मधेसी दलहरुले संविधानका विरुद्ध गरेको प्रदर्शनबाट टीकापुरमा दुई वर्षीय बालकका साथै प्रहरी अधिकारीहरुको नृशंस हत्या भएको थियो । सरकारले कथित मधेस आन्दोलनको नाममा त्यसमा संलग्नहरुका मुद्दा फिर्ता लिने तयारी गरिरहेको छ । गृहमन्त्री विमलेन्द्र निधीले दशैंलगत्तै मुद्दा फिर्ता लिने जानकारी दिइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत गएका बेला उक्त घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई आफू बसेको होटलमै बोलाएर भेटेको तस्वीर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्