टीकापुर घटनामा संलग्नहरुलाई उन्मुक्ति नदिन माग गर्दै अनेरास्ववियु सडकमा


९ असोज । नकेपा (एमाले) निकटको भ्रातृ संगठन अनेरास्ववियुले खवरदारी जुलुस निकालेको छ । गत वर्ष भएको टीकापुर घटनामा संलग्नहरुलाई उन्मुक्ति नदिन माग गर्दै अनेरास्ववियुले खवरदारी जुलुस निकालेको हो ।

‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन–धनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै छ,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने ‘लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने गरी भएका ती घटनाका सन्दर्भमा गरिएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिने काम गरेको छ, हामीले त्यसको विरोधमा खवरदारी जुलुस निकालेका हौँ ।’

लामिछानेले देशमा शान्ति–सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले सरकारले त्यस्ता खाले निर्णय गर्न लागेको भन्दै अनेरास्ववियुको गम्भीर ध्यान गएको बताए ।

‘त्यस्ता निर्णय गर्नुपूर्व देशको संविधान, कानुन, लोकतन्त्रका मूल्य र मान्यताको अनुशरण गर्नुपर्छ,’ लामिछानेले भने ‘सरकार आफ्नै ढंगले चल्न खोजेको छ, हामीलाई मन परेको छैन ।’ सरकार जबरजस्ती अघि बढे अनेरास्ववियु चुप नलाग्ने पनि उनले बताए ।

अनेरास्ववियुले प्रचण्ड सरकारले भारतीय इशारामा नेपालको अन्तराष्ट्रिय नीति तय गर्ने सहमति गरेको भन्दै त्यसको पनि विरोध गरेको जानकारी दिए ।  मधेसी मोर्चाले हिन्दीलाई पनि सरकारी कामकाजीको भाषा बनाउनु पर्ने माग गरेको भन्दै त्यसको समेत अनेरास्ववियुले विरोध गरेको छ । ‘अनेरास्ववियु राष्ट्रियताको पहरेदार हो,’ उनले भने ‘राष्ट्रलाई झुकाउँने कुनै काम कसैबाट हुन्छ भने अनेरास्ववियु चुप लागेर बस्दैन ।’

प्रतिक्रिया दिनुहोस्