टेम्पोमा भेटिएका ८५ वर्षीय बोधराज भन्छन्– ‘मनमोहन अधिकारीको जय होस्’


१४ मंसिर । मंगलबार पुरानो बानेश्वरबाट नयाँ बानेश्वर आउने क्रममा बा १ ह ३५७२ नम्बरको टेम्पोमा पहिलो न्युजका प्रतिनिधिको ८५ वर्षीय बोधराज गिरीसँग भेट भयो । उनी पशुपतिनाथको दर्शन गरेर आफ्नो निवास नयाँ बानेश्वरको कात्यायनी चोकतिर आउने क्रममा रहेछन् ।

सँगै यात्रा गरेका गिरीले भीडभाडले भरिएको टेम्पोमा प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई भगवान मात्र भनेनन्, आफू कुनै पार्टीको सदस्य नभए पनि मनमोहन र केपी ओलीलाई मन पराउने बताए । उनले एमालेलाई वृद्धवृद्धाहरुको संरक्षण गर्ने पार्टीको रुपमा समेत बखान गरे । करिब १० मिनेटको यात्रामा उनले मनमोहन र ओलीको निकै प्रशंसा गरे । त्यसको त्यो एउटै कारण थियो, वृद्धभत्ता ।
तपाईँ कहाँ बस्नु हुन्छ ?

म बानेश्वरको कात्यायनी मन्दिर नजिकै बस्छु ।

वृद्ध भत्ता कुन प्रधानमन्त्रीको पालाबाट दिन सुरु गरिएको हो, थाहा छ तपाईलाई ?

किन थाहा नहुनु नि । स्वर्गीय मनमोहन अधिकारी २०५१ सालमा प्रधानमन्त्री भएको बेलादेखि दिन सुरु गरेको हो ।

यसरी वृद्धभत्ता दिने प्रधानमन्त्री मनमोहन अधिकारीको सम्झना हुन्छ ?

बुढाबुढी भएपछि यो लिने–दिने कुरा सप्पै छाडिने रहेछ । घरपरिवारमा पनि कतै घुमौं, केही गरौं भनेर पैसा माग्यो भने ‘किन चाहियो पैसा, बस्नु भएकै छ, खानु भएकै छ’ भन्छन् । यसो हेर्दा हो जस्तो पनि देखिन्छ । लाउन दिएकै छन्, खान दिएकै छन् । तर, कतै हिँडडुल गर्दा वा केही मन लागेको कुरा खानका लागि पनि बुढाबुढीलाई पैसा त चाहिन्छ नि ? यही टेम्पोमा चढ्दा पनि पैसा चाहिन्छ । यसकारण हामीलाई पैसा चाहिए पनि घरमा हुने मान्छेले नदिँदा रहेछन् ।

यस्तो बेला मनमोहन अधिकारीलाई हामीजस्ता बुढाबुढीले झलझली सम्झिने रहेछौँ । उहाँले नै वृद्धभत्ताको सुरुवात गर्नुभयो । हामीजस्ता बुढाबुढीलाई उहाँले उद्धार गर्नुभएको छ । उहाँ त हामी जस्ताका लागि भगवान नै हुनुहुँदो रहेछ जस्तो लाग्छ ।

kakakkaमनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ता कति थियो, थाहा छ ?

एक–दुई सय थियो होला । पछि नेपाली कांग्रेसका पालामा पनि त्यो अलिकति बढ्यो जस्तो लाग्छ । पछि माओवादीले पनि अलिअलि बढायो जस्तो लाग्छ । केपी ओली नेतृत्वको सरकारले त बढाएर दुई हजार बनायो । अहिले त त्यो पैसाले हामी जस्तालाई मोटरमा हिँड्न, मन लागेको खान मज्जाले पुगेको छ । मलाई एमाले त वृद्धवृद्धाको पार्टी जस्तो पो लागेको छ । मलाई घरमा खान त केही दुःख छैन । कतै हिँडडुल गर्न, मन लागेका बेला चलाउन पैसा दिने सरकारको जय होस् भन्ने लागेको छ ।

नेपालको राजनीतिबारे तपाईलाई केही जानकारी छ ?

अहिलेका नेतालाई त आफैँलाई खाँदा नै ठिक्क छ । नेताहरु हाम्रा लागि भएनन् । ६ सय १ जना छन् भनिएको छ क्यारे । यिनीहरुले आफ्नो परिवारलाई चाहिँ दिनसम्म दिए । तर, जनताका लागि केही पनि गर्न नसक्ने भए । बाटाघाटा बिग्रिएका छन्, हिँडिसक्नु छैन ।

यसमा कसैले ध्यान दिएका छैनन् । अब युवाहरु आएर केही गरे भने मात्रै, नभए यिनीहरुले त केही पनि गर्न सकेनन् । देश बनाउन युवाहरु आए भने हामी अझै पनि साथ दिन्छौँ ।

प्रतिक्रिया दिनुहोस्