ट्रापिक प्रहरीलाई ४० प्रतिशतसम्म भत्ता प्रस्ताव


 

काठमाडौं, ६ बैशाख । सरकारले ट्राफिक प्रहरी अधिकारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गर्न त्यसको कार्यविधिलाई स्वीकृत गरेको छ । गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले कार्यविधिलाई स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न बनेको कार्यविधि स्वीकृत गरेको जानकारी दिएका छन् । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन कार्यविधि २०७५ स्वीकृत भएको हो । सो कार्यविधि अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।

प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् । उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयले जनाएको छ । धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले भत्ताको ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको हो । यसअघि सरकारले १५ प्रतिशत भत्ता दिदै आएकोमा दुई वर्षदेखि अर्थमन्त्रालयले त्यसलाई रोकेको थियो । मन्त्रालयले अहिले प्रस्ताव गरेको भत्ता पनि अर्थमन्त्रालयले स्वीकृत दिनुपर्ने हुन्छ । भत्ताका लागि कार्यविधि ल्याउन स्वीकृती मात्रै दिएको हो कार्यविधिमा प्रस्ताव गरेको भत्ता दिन अर्थले स्वीकृत गरेर बजेट निकासा गर्नुपर्ने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्