ठाकुर र यादवबीचको द्वन्द्वले गठबन्धन नै तहसनहस


२५ वैशाख । संविधान जारी भएपछि एउटै मोर्चामा रहेर आन्दोलन गरेका मधेसी मोर्चाबीचको विवाद उत्कर्षमा पुगेको छ । संघीय गठबन्धनको अध्यक्षबाट उपेन्द्र यादवलाई हटाएर महन्थ ठाकुर अध्यक्ष बनेपछि मोर्चाबीच चुलिएको विवाद उत्कर्षमा पुगेको हो ।

स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारे मतभेद चर्किँदै जाँदा यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावमा भाग लिएपछि संघीय गठबन्धनमा दरार उत्पन्न हुन पुगेको हो । मधेस केन्द्रित दलहरु बिलिन भएर बनेको राष्ट्रिय जनता पार्टीले भने चुनावमा भाग लिएको छैन । केही दिनअघि निर्वाचनमा सामेल फोरमका अध्यक्ष यादवलाई संघीय गठबन्धनको संयोजकबाट हटाइएको कुरा सार्वजनिक भएको थियो । यादवलाई हटाएपछि ठाकुरले नै गठबन्धनको संयोजकको जिम्मेवारी लिएका थिए ।

तर, चुनावमा सामेल फोरमका अध्यक्ष यादवले भने गठबन्धनको संयोजक आफू नै रहेको प्रष्ट पारेका छन् । शनिबार गठबन्धनको संयोजकबाट यादवलाई हटाएर ठाकुर संयोजक भएको कुरा बाहिर आएपछि यादव आक्रोशित बन्न पुगेका थिए । उनले गठबन्धनको बैठक नै नबसेको र आफूलाई नहटाएको जिकिर गरेका छन् । यादवले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘आदिवासी, जनजाति, मधेसी, थारु, खस, मुस्लिमलगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक, अधिकारका निम्ति जारी संघर्षलाई सफलतामा पुर्याउन अरु वृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात, अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक पनि छ ।’

स्थानीय तहको निर्वाचनमा राजपाले भाग नलिए पनि यादव नेतृत्वको फोरमले पहिलो चरणको निर्वाचनमा भाग लिएपछि गठबन्धनमा सामेल राजपाका नेताहरु यादवप्रति क्षुब्ध बन्न पुगेका थिए । उनीहरुले यादवलाई आत्मसमर्पणवादीको बिल्ला लगाइदिएका थिए । गठबन्धनमै आवद्ध राजपाले चुनाव बहिस्कार गर्दा गठबन्धनमै रहेको अर्को दल फोरमले भने चुनावमा भाग लिएपछि त्यसकै प्रतिशोधस्वरुप यादवलाई गठबन्धनको संयोजकबाट हटाएका थिए ।

ठाकुर र यादवबीचको मनमुटाव भने राजपा गठन गर्दादेखि नै सुरु भएको थियो । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, नेपालसँग एकता गर्ने तयारीमा रहेका यादवलाई कुनै वास्ता नै नगरी ठाकुरले नेतृत्व गरेको तमलोपालगायत अरु मधेस केन्द्रित दलहरुबीच एकता हुन पुगेको थियो । सो एकता प्रक्रियामा आफूलाई सामेल नगराएकोमा यादव ठाकुरलगायत अरु मधेसी नेताहरुसँग रुष्ट रहँदै आएका थिए । त्यसकै प्रतिक्रियास्वरुप यादवले स्थानीय तहको निर्वाचनमा भाग लिएको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्