ठूला दलहरु उम्मेद्वार छान्न व्यस्त


८ वैशाख । सत्तारुढ दलहरुमा रहेको अन्योल मेटिएर स्थानीय तहको निर्वाचन वैशाख ३१ मै हुने सम्भावना बढेसँगै यतिबेला हरेक राजनीतिक दलहरु उम्मेद्वार छनोट गर्न जुटेका छन् । प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत सबै दलहरु उम्मेद्वारको अन्तिम टुंगो लगाउन सक्रिय देखिएका छन् । केही साना दलहरुले भने अधिकांश ठाउँमा उम्मेद्वार चयन गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले भने आगामी वैशाख १२ गतेसम्म सबै तहका उम्मेद्वार टुंग्याउने गरी युद्धस्तरमा जुटिरहेको छ । एमालेले आजसम्म जिल्ला कमिटी र आइतबारसम्म प्रदेश कमिटीलाई उम्मेद्वार चयन गरिसक्नुपर्ने निर्देशन दिएको छ । जिल्ला कमिटीले वडाध्यक्ष र सदस्यहरु छनोट गर्नेछ भने प्रदेश कमिटी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको मेयर र उपमेयर चयन गर्नेछ ।

महानगरपालिकाहरुका मेयर र उपमेयरको टुंगो भने एमाले स्थायी समितिको बैठकले लगाउने छ । आगामी वैशाख १२ गते बस्ने स्थायी समितिको बैठकपछि चार वटा महानगरपालिकाका मेयर र उपमेयरको टुंगो लगाइने बताइएको छ । एमालेका अधिकांश ठाउँका उम्मेद्वारहरु सर्वसम्मत भए पनि केही ठाउँमा आकाक्षीहरु बढी देखिएका हुँदा समस्या उत्पन्न भएको छ । तर, एक दुईभित्रै सर्वसम्मत उम्मेद्वार चयन गर्ने गरी एमालेका जिल्ला तहका बैठकहरु बसिरहेका छन् ।

नेपाली काँग्रेसले भने स्थानीय निकायका उम्मेद्वारहरु चयन गर्नका लागि आगामी वैशाख १२ गतेसम्मको समय दिएको छ । यसअघि काँग्रेसले वैशाख ७ गतेभित्र उम्मेद्वारहरु चयन गरेर पठाउन तल्लो तहलाई निर्देशन दिएको थियो । तर, उम्मेद्वारहरुका आकांक्षी धेरै देखिएपछि विवाद आउनसक्ने भएको हुँदा समय थपेर नाम पठाउन काँग्रेसले समय थपेको हो ।

माओवादी केन्द्रले भने अधिकांश तहका उम्मेद्वारहरु चयन गरिसकेका छन् । सो पार्टीबाट उम्मेद्वार बन्ने आकांक्षीहरु धेरै नदेखिएका हुँदा उम्मेद्वार चयनमा समस्या देखा परेको छैन । सो पार्टीले वैशाख ९ गतेसम्म सबै तहमा उम्मेद्वार चयन गरिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्