‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिएपछि पूर्व सांसद शाहले अस्पतालमै छाडिन बच्चा


काठमाडौ, २६ चैत । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ बच्चा जन्मिएको थाहा पाएपछि बच्चा अस्पतालमै छोडेकी छिन्।
लापरबाहीले त्यस्तो (शारीरिक विकास कम) हुने बच्चा जन्मिएको भन्दै उनले मेडिसिटी अस्पतालमा बच्चा छोडेकी हुन्।

साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन्। दुबै खुट्टा केही बांगो रहेको देखिएपछि एनआइसियुमा लामो समय बच्चालाई उपचारमा राखिरहेकै अवस्थामा साहले बच्चा छोडेकी हुन्।
उनले बच्चाको बाँकी जिम्मा अस्पतालले नै लिनुपर्ने अडान राखेकी छिन्। ‘तीन र पाँच महिनामा बच्चाको शारीरिक परीक्षण गर्दा केही देखिएको थिएन,’ साहले भनिन्, ‘तर, जन्मेपछि यस्तो बच्चा आएपछि मैले अस्पतालको जिम्मामा छोडेकी हुँ।’ गर्भवतीलगत्तै उनले मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरेकी थिइन्।
लामो समय एनआइसियुमा राखी बच्चाको रगत परीक्षण गर्न भारत पठाइएको थियो। भारतबाट आएको रिपोर्टमा ‘डाउन सिन्ड्रोम’ देखिएपछि साहले अस्पतालमै बच्चा छोडेकी हुन्।

साहले भनेजस्तो जाँच १४/१८ हप्तामा गर्नुपर्छ। साहको नियमित स्वास्थ्य परीक्षण गरिरहेकी मेडिसिटीकी डाक्टर मीरा सिंह श्रेष्ठले ‘डाउन सिन्ड्रोम’ टेस्ट नगरिएको बताइन्।

‘डाउन सिन्ड्रोम जाँच गर्ने नेपालमा कुनै प्रविधि छैन, प्रोटोकल नै छैन,’ श्रेष्ठले भनिन् । उनले नेपालका कुनै अस्पतालमा ‘डाउन सिन्ड्रोम’ परीक्षण नहुने बताइन्।

 

प्रतिक्रिया दिनुहोस्