डुङ्गा व्यवसायीमा निराशा


बेझाड, पाल्पा, १८ चैत ।‘बेगनास तालको पानी, चोखो छ नि नानी, आऊ है लेखनाथै झरेर’……. यो गीत सुन्दा जो कोहीका मनमा एकपटक बेगनास ताल घुमौँ घुमौँ लाग्छ नै । प्रकृतिको अथाह सुन्दरताले भरिपूर्ण सबैको मन लोभ्याउने बेगनास तालका मनमोहक दृश्यले नलोभिने शायद कमै हुन्छन् ।
पोखरा बजारबाट दक्षिणपूर्वी भू–भाग ९साविकको सात तालको बगैंचा शहर लेखनाथ०को भित्री भागमा डाँडाको काखमा रहेको बेगनास ताल नियाल्दै डुङ्गामा घुम्दाको क्षण निकै आनन्ददायी हुन्छ ।
पोखरालाई विश्वमा सुन्दर पर्यटकीय नगरीका रुपमा चिनाउन महत्वपूर्ण योगदान गरेका यहाँका तालकै कारण पोखरामा धेरै पर्यटक भित्रिएका छन् । अझ भन्नुपर्दा यस तालमा डुङ्गा चढ्ने पर्यटकले मात्र आनन्दानुभूति लिने होइनन्, डुङ्गा चलाउने व्यवसायीको पनि रोजीरोटीको गतिलो माध्यम बन्दैआएको छ ।
यस व्यवसायबाट धेरैले घरपरिवार नै धानेका थिए । जब बेगनास तालमा पर्यटक खचाखच भरिन्थे उनीहरूलाई तालमा घुमाउन भ्याइनभ्याई हुन्थ्यो । पछिल्लो समय भने यहाँका डुङ्गा व्यवसायी यस व्यवसायबाट त्यति सन्तुष्ट छैनन् ।
पोखरा महानगरपालिका वडा नं ३१ बस्ने रामजी कोइरालाले १६ वर्षको उमेरदेखि नै बेगनास तालमा डुङ्गा चलाउँदै आउनुभएको छ । पहिला डुङ्गा चलाएर उहाँले घरखर्च राम्रैसँग चलाउने गर्नुहुन्थ्यो । उहाँ डुङ्गा चलाउन छाडेर बीचमा केही समय वैदेशिक रोजगारमा जानुभयो ।
वैदेशिक रोजगारको कष्टपूर्ण भोगाइपछि पुनः स्वदेश फर्के लगत्तै चार वर्ष यतादेखि बेगनास तालमा नियमित रुपमा डुङ्गा व्यवसायीका रुपमा काम गर्दैआउनु भएको छ तर, उहाँ यस व्यवसायमा पहिले जस्तो सन्तुष्ट भने हुनुहुन्न ।
“पहिला त कमाइ राम्रै हुन्थ्यो, बिहानदेखि साँभmसम्म तालमा पर्यटकलाई डुङ्गामा घुमाउन भ्याइनभ्याई हुन्थ्यो,” उहाँले ती दिन सम्झँदै भन्नुभयो – “तिनताका दिन गएको पनि पत्तो हुँदैनथ्यो, अहिले डुङ्गा त छ तर, के भन्नु सोचे जस्तो कामै पाइँदैन ।”
उहाँ पहिले जस्तै कमाइ हुने आशा देखेर यो व्यवसायमा पुनः लाग्नुभएको हो । यसबाट कमाउने आशा हराउँदै गएपछि वैकल्पिक पेशाको खोजीमा कोइराला हुनुहुन्छ । कोइराला मात्रै होइन यहाँ डुङ्गा चलाउने अधिकाँश व्यवसायी अन्यत्र पेशा, व्यवसायको खोजीमा छन् ।
तालमा डुङ्गाको अनुपातमा पर्यटकको सङ्ख्या कम हुँदा व्यवसायीलाई काम नपुगेर त्यत्तिकै दिनभर खाली बस्नुपरेको अर्का व्यवसायी माधवप्रसाद कँडेल बताउनुहुन्छ । उहाँ विगत तीन वर्षदेखि लगातार यहाँ डुङ्गा चलाउँदै आउनुभएको छ तर, उहाँलाई हिजोआज यो व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ ।

“घरको काम छाडेर दिनभर बेगनास तालको किनारमा पर्यटकको पखाइमै बस्यो, तालमा आउने पर्यटकको सङ्ख्या अत्यन्तै कम छ,” उहाँले थप्नुभयो – “कहिलेकाहीँ त खाजा खाने पैसा पनि उठ्न मुश्किल पर्छ ।”

पहिले त डुङ्गाको पखाइमा किनारामा पर्यटकले भरिँदा काममा निकै हौसला बढ्ने गरेको अनुभव सुनाउने उहाँ अहिले भने पर्यटकको सङ्ख्या घट्दै गएकामा निराश हुनुहुन्छ ।

बजार क्षेत्रदेखि भित्री भागमा ताल अवस्थित रहेकाले पनि यहाँ फेवातालको तुलनामा बाह्य तथा आन्तरिक पर्यटकको उपस्थिति कम छ । यसले गर्दा पनि डुङ्गा चलाएर जीविका चलाउने आशामा बसेका यहाँका व्यवसायीमा निराशा छाएको छ ।

यस तालमा सञ्चालनका लागि २५७ वटा डुङ्गा दर्ता भएका छन् जसमध्ये हाल २०० डुङ्गा मात्र चालु छन् । एक सय ५१ घरपरिवार डुङ्गा चलाउने व्यवसायमा आबद्ध रहे पनि अहिले करीब १०० परिवारले मात्र नियमित रुपमा तालमा डुङ्गा सञ्चालन गर्दै आइरहेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँ वार्षिक ५० हजारको हाराहारीमा बाह्य तथा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । “अब पर्यटक बढाउन तालमा सञ्चालन हुँदै आएका पुराना डुङ्गाका ठाउँमा स्तरीय खालका डुङ्गा थप्ने योजना छ,” कँडेलले भन्नुभयो – “तालको सुन्दरतालाई जोगाइ राख्न र पर्यटक बढाउन समितिले नयाँ ढङ्गबाट काम गर्ने तयारी गरिरहेको छ ।”

कुल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको पूरै भाग डुङ्गामा चढेर घुम्न आठ घण्टाको समय लाग्छ । सानो डुङ्गाको प्रतिघण्टा रु पाँच सय र ठूलो डुङ्गाको प्रतिघण्टा रु एक हजार शुल्क कायम गरिएको छ । डुङ्गा व्यवसायीले ५० प्रतिशत रकम बुझ्ने गर्छन् ।

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्प, बन्द हड्तालका कारण पछिल्लो समय डुङ्गा चढ्ने पर्यटकको सङ्ख्यामा कमी आएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । हावाहुरी, वर्षाका कारणले फागुनदेखि असारसम्म डुङ्गा चढ्नेको सङ्ख्या कम हुने गरेको छ । तालको किनारैभरि डुङ्गाको मात्र ताँती छ तर, चढ्ने पर्यटकको चलहपहल खासै नभेटिएको पाल्पा रामपुरबाट घुम्न पुग्नुभएका समाजसेवी सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“बेगनास तालको किनारमा दुई घण्टा बसेर ताल अवलोकन ग¥र्यौं, डुङ्गाको सङ्ख्या अनुसार पर्यटकको उपस्थिति न्यून देखें” – उहाँले भन्नुभयो ।
डुङ्गाको सङ्ख्या घटाएरै भए पनि सीमित युवालाई यहीँ डुङ्गा चलाएरै बाँच्न सक्ने आधार समितिले तयार गर्नुपर्ने उहाँको भनाइ छ । समितिले सङ्ख्यात्मक रुपमा मात्र नभई आवश्यकतानुसार निश्चित डुङ्गा चलाउने व्यवस्था गर्न सके व्यवसायीले राम्रै कमाइ गर्न सक्नेछन् ।
चाहिनेभन्दा बढी डुङ्गा दर्ता गरेका कारण व्यावसायिक रुपमा लागेका डुङ्गा व्यवसायी अब विस्तारै यस व्यवसायबाट विस्थापित हुँदैछन् । त्यसकारण सङ्ख्यालाई भन्दा पनि व्यावसायिकतालाई ध्यान दिएर डुङ्गा सञ्चालन गर्नेतर्फ समितिले सोच्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्