डोलिडारका १ सय ८१ प्राविधिकको सरुवामा आर्थिक चलखेलको आशंका


९ भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत सबैभन्दा प्रभावशाली विभाग स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) मा कार्यरत खानेपानी कार्यक्रम टेक्निसियनहरुलाई स्थानीय तहमा सरुवा गर्दा आर्थिक चलखेल भएको पाइएको छ । स्थानीय तहमा खटाउने कर्मचारीहरुको व्यवस्थापन मन्त्रालय तहबाट हुनुपर्नेमा आर्थिक चलखेलकै कारण सो अधिकार डोलिडारलाई नै दिएको बताइन्छ ।

डोलिडारअन्तर्गतको खानेपानी महाशाखामा कार्यरत १ सय ८१ जना प्राविधिकहरुलाई स्थानीय तहको जिम्मेवारीमा खटाउने क्रममा रोजेको ठाउँमा जाने प्राविधिकले डोलिडारका उच्च तहका कर्मचारीलाई रकम बुझाएको सूत्रको दाबी छ । सूत्रका अनुसार, डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ, प्रशासनका शाखा अधिकृत गणेशविक्रम शाही र उपसचिव राजेन्द्र केसीले योजनाअनुरुप आकर्षक ठाउँमा जान चाहने ती प्राविधिकहरुसँग रकम असुलेको बताइन्छ ।

विभिन्न जिल्लामा रहेका प्राविधिकहरुसँग रकमको मोलमोलाइ गर्ने काम भने डोलिडारमै कार्यरत खानेपानी कार्यक्रम टेक्निसियनका केन्द्रीय अध्यक्ष
गुणराज कटवालले गरेको सूत्रले बतायो । तर, कतिपय प्राविधिकहरुले रकम दिन आनाकानी गरेको बुझिएको छ । अहिले सो महाशाखाको कार्यक्रम संयोजकमा भने अमृत श्रेष्ठ रहेका छन् ।

यसरी नै, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भने अहिले विदेश भ्रमणमा रहेका छन् । विदेश भ्रमण गर्ने सचिवहरुमध्ये पहिलो लहरमै पर्ने थपलिया अहिले अस्ट्रेलियाको भ्रमणमा रहेका छन् । उनी केही दिनअघि अस्ट्रेलिया उडेका हुन् । कर्मचारीहरुको विदेश भ्रमणमा सरकारले कडाइ गरे पनि सो कुरा थपलियाको हकमा भने लागू नहुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्