डोलिडारमा कांग्रेस निकट कर्मचारीको हालीमुहाली


२६ असोज । स्थानीय पूर्वाधार तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकमा जीवनकुमार श्रेष्ठ नियुक्त भएर आएपछि व्यापक रुपमा कांग्रेसीकरण सुरु भएको छ । नेपाली कांग्रेसमा आफ्नो पार्टी विलय गराउनै लागेका उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले महानिर्देशकमा श्रेष्ठलाई ल्याएपछि कांग्रेसीकरण तीव्र बनेको हो ।

महानिर्देशक श्रेष्ठले डोलिडारअन्तर्गतको सबैभन्दा ठूलो आयोजना एफआरटीटीमा केही दिनअघि मात्रै कुमार थापालाई ल्याएका छन् । थापा नेपाली कांग्रेसनिकटका कर्मचारी हुन् । उनलाई करिब १४ अर्ब बजेट रहेको सो आयोजनाको प्रमुखको जिम्मेवारी दिइएको छ । सो आयोजनामा रहेका कृष्णबहादुर कटुवाललाई भने विभागमा पेन्डिङमा राखिएको छ । सो आयोजनामा ल्याइएको थापा यसअघि भने डोलिडारअन्तर्गतकै उन्नति नामक आयोजनामा थिए । उक्त आयोजना ४ करोडको मात्रै रहेको बताइन्छ ।

महानिर्देशकमा श्रेष्ठ आएपछि कांग्रेस निकट कर्मचारीहरुलाई छानीछानी राम्रा आयोजनाहरुको जिम्मा दिइएको छ । अहिले डोलिडारअन्तर्गतका विभिन्न आयोजनाहरुमा कांग्रेस निकट सिडिई शम्भू कार्की, उमाशंकर साह, अमृत श्रेष्ठ, सुरेश केसीकै हालीमुहाली रहँदै आएको बताइन्छ । ती कर्मचारीहरु वर्षौंदेखि डोलिडारको केन्द्रमै रहेर हालीमुहाली चलाउँदै आएका छन् । जिल्लाहरुमा नजाने र केन्द्रमै बसेर कोअर्डिनेटरको रुपमा काम गर्नेमा ती कर्मचारीहरुको नाम अग्रपंक्तिमै आउने बताइन्छ ।

यसैबीच, डोलिडारअन्तर्गतको विभिन्न आयोजनाहरुको कार्यक्रममा विदेश भ्रमणमा जानेहरुमा स्थानीय विकास मन्त्रालयका सचिव, सहसचिवहरुको नाम पहिलो नम्बर आउने गरेको बताइन्छ । डोलिडारकै खर्चमा सचिव दिनेशकुमार थपलिया अहिले भारतको भ्रमणमा गएका छन् । उनी २८ गते मात्रै भारतबाट फर्किने कार्यक्रम रहेको छ । यसअघि भने उनी बेलायत गएका थिए । बेलायत घुमेर दसैं मान्न नेपाल आएलगत्तै उनी भारत गएका हुन् ।

डोलिडारकै कार्यक्रममा धेरै पटक विदेश भ्रमणमा जानेहरुमा मन्त्रालयका सहसचिव रामकृष्ण सापकोटा, पुरुषोत्तम नेपाल, पवनकुमार श्रेष्ठ र डिजी श्रेष्ठ पर्दछन् । पछिल्लो समय सचिव र सहसचिवहरुले प्रायः युरोपियन देशहरुका भ्रमण गरेका छन् । विदेश भ्रमणमा जाँदा आकर्षक भत्ता आउने गरेका हुँदा मन्त्रालयका उच्च तहका कर्मचारीहरु बिना मापदण्ड नै विदेश भ्रमण जाने गरेको बताइन्छ ।

यसैगरी, डोलिडारका डिडिजी ईश्वरचन्द्र मरहठ्ठाले व्यापक रुपमा कर्मचारीहरु भर्ना गरिरहेका छन् । उनी डोलिडारअन्तर्गतकै भूकम्प पुनर्निर्माण आयोजनाका प्रमुख हुन् । माओवादी निकट मानिने उनले उक्त आयोजनामा माओवादीका कार्यकर्ताहरुलाई प्रक्रिया नपु¥याउन धमाधम भर्ना गरिरहेको बताइन्छ । उनले दर्जनौ मानिसहरुलाई बिना प्रक्रिया कार्यालय सहयोगी, कम्प्युटर अपरेटर र ओभरसियरजस्ता पदहरुमा भर्ना गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्