डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्


dolpaडोल्पा, २१ वैशाख । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् ।
पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा भत्ता रकम बुझ्दै आएका उनीहरु चालु आवको तेस्रो किस्ता लागि सक्दासमेत नपाएपछि निराश भएका छन् ।
सरकारले यस जिल्लाका ७० वर्ष पुगेका वृद्धवृद्धा नागरिकलाई प्रतिमहिना रु दुई हजारका दरले वर्षमा चौबीस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना रु एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाति र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्गता भएका ९क० वर्गलाई प्रति महिना रु दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्गता ९ख० वर्गलाई प्रतिमहिना रु ६ सयका दरले वार्षिक सात हजार दुई सय सामाजिक सुरक्षाबापत भत्ता उपलब्ध गराउँदै आएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वडाबाट जेष्ठ नागरिक तथा बालबालिकाको नयाँ आँकडा नगरमा नआइसकेकाले भत्ता वितरणमा ढिलाइ भइरहेको बताउनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि रु एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडा वडाबाट विवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्