तराईमा एमाले प्रवेशको लहरः महासचिव पोख्रेलले भने– ‘मधेस एमालेका लागि आमाको काख’


मंसिर । नेकपा (एमाले) महासचिव ईश्वर पोख्रेलले सीमांकनका नाममा हिमाल, पहाड र तराईलाई अलग गर्ने षडयन्त्र आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् । एमाले प्रदेश नम्बर–२ को संगठन कमिटिको उद्घाटन सत्रलाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले संविधान संशोधनका नाममा हिमाल, पहाड र तराईलाई अलग गर्ने खेल सुरु भएको छ,’ उनले भने, ‘एमाले त्यसलाई किमार्थ स्वीकार गर्दैन ।’

त्यसैगरी पोख्रेलले एमालेको स्थापना मधेसबाटै भएको भन्दै एमालेले मधेसलाई जननी (आमा) मान्ने गरेको भन्दै कहिल्यै मधेस विरोधी हुन नसक्ने जिकिर गरे । ‘कम्युनिष्ट पार्टीको सुरु चरण नै मधेसबाट भएको हो,’ उनले भने, ‘मधेस एमालेका लागि आमाको काख हो, आमाको काखलाई कसैले पनि अपमान गर्न सक्दैन ।’

उनले अंगीकृत नागरिकतावालालाई संवैधानिक निकायको उच्च पदमा लैजाने कुरा समेत अस्वीकार्य हुने दाबी गरे । एमाले संविधान संशोधनको विरोधी नभएको भन्दै उनले एमाले अहिले ९० प्रतिशतले स्वीकार गरेको संविधान कार्यान्वयनको पक्षमा रहेको दाबी गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन बढीले एमाले प्रवेश गरेका थिए । मधेसमा एमाले कमजोर भयो भन्ने आरोप लागिरहेका बेला मधेसमा एमाले प्रवेशको लहर चलेको भन्दै महासचिव पोख्रेलले तराईका जनताले एमालेबाट अझै धेरै अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्