तराईमा एमालेको ‘मार्चपास’, पाँचथरबाट दार्चुलासम्म पनि सभा


६ माघ । सरकार मुलुकलाई संवैधानिक संकटमा धकेल्न उद्यत देखिएको छ । त्यति मात्र होइन सरकार तराईमा रहेका भूमिपुत्र थारू, धिमालसहित रैथानेहरू यादव, चौधरी, ठाकुर, दलितका सबैलाई अधिकारबाट वञ्चित बनाएर नेपाललाई नै भारतको एउटा उपनिवेशमा परिणत गर्ने ‘संविधान संशोधन’ को डिजाइन कार्यान्वयनमा दत्तचित छ ।

यी सबै षड्यन्त्रका बाबजुद तराई–मधेसका जमिनदारहरूको शोषण र उत्पीडनविरुद्धको आन्दोलनबाट निर्मित एमालेलाई मधेसविरोधी पार्टीका रूपमा दर्ज गर्ने दुष्प्रयत्नविरुद्ध फागुन तेस्रो साताबाट सिंगै तराई–मधेस एकपटक जुरुक्कै उठ्ने भएको छ । यी सबै षड्यन्त्रविरुद्ध तराईमा लाखौंलाख जनता सडकमा उतारेर ‘मार्च पास’ गर्ने गरी एमालेको हाई कमान्ड ‘स्थायी समिति’ ले योजना सार्वजनिक गरिसकेको छ ।

पञ्चायत शासकबाट सुखानीको जंगलमा हत्या गरिएका पाँच सहिदहरूको स्मृति दिवसकै दिन अर्थात् आगामी २१ फागुनबाट ५ चैतसम्म १५ दिन मेची–काली अभियान सञ्चालन गर्ने एमालेले घोषणा गरेपछि तराईमा एमालेप्रति नयाँ नरंग उत्पन्न हुने अनुमान गरिएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितको अगुवाइ, सबै केन्द्रीय नेता, जनसंगठनका नेतृत्वसहितको सहभागिता, प्रदेश संगठन र जिल्ला कमिटीहरूको व्यवस्थापनमा लगातार एमालेले तराई–मधेसका लाखौं जनतालाई ‘मार्च पास’ र जनसभामा उतार्न लागेको हो । जसअन्तर्गत एकै दिन ‘पूर्व–पश्चिम हाइवे’ का प्रमुख सहरहरूमा दुईवटासम्म आमसभा गर्ने गरी योजना बनाइएको केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेका अनुसार काँकडभिट्टाबाट सुरु हुने जनप्रदर्शन र मार्चपास इनरुवा, इटहरी, बर्दिबास, जनकपुर, वीरगन्ज, बुटवल, भैरहवा हुँदै कञ्चनपुुरको महेन्द्रनगरसम्म पुग्नेछ । फर्किएर सुर्खेतसम्म समापन हुँदा कम्तीमा ३० देखि ३५ वटासम्म जनसभा, प्रदर्शन र ¥याली हुनेछन् । एमालेले यसलाई पार्टीको इतिहासमै सबैभन्दा ठूलो शक्ति प्रदर्शन हुने भन्दै सम्पूर्ण ध्यान केन्द्रित गरेर पार्टी पंक्तिलाई परिचालित गर्ने निर्णय गरेको छ । हजारौंको सहभागितामा तराई–मधेसमा जनसभा र भेलाका कार्यक्रमहरू भइरहँदा पनि नागरिकता र अघिल्लो पुस्ताको कुनै ठेगान नभएका मधेसी मोर्चाका केही नेताले एमालेलाई ब्यान्ड बाजा बजाएर लखेट्नेजस्ता तुष्टि लिने उत्तेजित भाषण गरिरहेकै बीचमा तिनका पृष्ठभूमि, चरित्रका साथै मधेसका नाममा गरिरहेको शोषण र उत्पीडनको भण्डाफोर गर्ने गरी एमालेले योजना बनाएको छ ।

पूर्व–पश्चिम राजमार्गका सबै सहरहरूमा एकदेखि दुई घण्टाको दूरीमा लगातार जुलुस र आमसभा आयोजना हुँदा दुई साताबीचमा लाखौंको सहभागिता रहने एमालेको दाबी छ । गत मंसिरबाट फागुन पहिलो सातासम्म राष्ट्रिय जागरण अभियानअन्तर्गत आमसभा र जनपरिचालन गरिरहेको एमालेले फागुन तेस्रो साताबाट सुरु हुने पछिल्लो अभियानलाई चुनावकेन्द्रित शक्ति प्रदर्शनका रूपमा प्रतिष्ठासँग जोड्न खोजेको छ । जागरण अभियानअन्तर्गत एमालेले यसबीचमै झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, बुटवल, धनगढी, नवलपरासीलगायतका स्थानमा आमसभा गरेको थियो ।

शीर्ष नेतादेखि केन्द्रीय तहका नेता, २२ वटै जनसंगठनका नेतृत्वसमेत सहभागी हुने अभियानमा कम्तीमा ५ हजारले एउटा सभास्थलबाट अर्को सभास्थलसम्म ‘मार्चपास’ गर्ने ज्ञवालीले जानकारी दिए । एउटा जुलुसले अर्को आमसभा स्थलसम्म मार्चपास र जुलुस गरेपछि अघिल्लो टोली झाँकीसहित पूर्ववत् स्थानमा फर्किनेछ भने नयाँ टोली र हजारौं सहभागी मार्चपास र जुलुस फेरि अर्को आमसभा स्थलतर्फ अघि बढ्नेछ । ‘त्यसबाहेक नेतृत्वसँगै कार्यकर्ता पंक्ति, जनसमुदाय हुनेछन्, दिनभरि जुलुस हिँडिरहनेछ,’ उनले भने, ‘अघिपछि झन्डा राखिएका सयौं गाडी, मोटरसाइकल र साइकलहरूको ¥याली पनि सँगसँगै जानेछ ।’ उनले १५ दिनसम्मको लगातार अभियानमा लाखौं जनता सडकमा उत्रिने अपेक्षा गरिएको समेत बताए ।

‘अभियानको मुख्य उद्देश्य संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने र राष्ट्रिय एकता एवं सामाजिक सद्भावलाई सुदृढ गर्नु हुनेछ,’ ज्ञवालीले भने । अभियानको तयारी र व्यवस्थापनको नेतृत्व सम्बन्धित प्रदेशका प्रदेश संगठन कमिटी र जिल्ला कमिटीहरूले गर्नेछन् ।

हुलाकी मार्ग र मध्यपहाडी राजमार्गमा छुट्टै अभियान

एमालेले १५ दिने सो अभियान सकिएलगत्तै हुलाकी राजमार्ग केन्द्रित गरेर तराईमै छुट्टै विशेष जागरण अभियान चलाउने पनि तयारी गरिरहेको छ । हुलाकी मार्ग एमालेकै अवधारणा बजेटका आधारमा अघि बढिरहेको छ । हुलाकी मार्ग विस्तार र शाखा जोड्ने सडक निर्माणका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले तराईमा इतिहासकै सबैभन्दा बढी विनियोजन गरेको थियो ।

जनतालाई यसबारे प्रशिक्षित गर्न पनि हुलाकी राजमार्ग आसपासका सबै स्थानमा घरदैलो गर्ने र सभामा जनसमुदायक केन्द्रित गर्ने गरी एमालेले तयारी गरेको हो । अन्तिममा भने पाँचथरबाट दार्चुलासम्म अर्थात् मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान चलाइने सचिव योगेश भट्टराईले बताए । ‘अबको चुनावमा एमालेले बहुमत नल्याएसम्म हामी एकढिक्काका साथ अभियानमा केन्द्रित हुन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्