तराईमा हिन्दीलाई कामकाजी भाषा बनाउने कुरा स्वीकार्य छैनः प्रदीप ज्ञवाली


२९ कात्तिक । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेसलाई विभाजन गर्ने गरी संविधानमा कुनै संशोधन हुन नसक्ने बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीका लागि सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले मधेसी दलको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याउने भनेको संविधान संशोधन प्रस्तावबारे एमालेलाई थाहा नभएको पनि जानकारी दिए । ‘पहाड र तराईलाई विभाजन गरेर प्रदेशको सीमाङ्कन गर्ने र अन्ततः तराईमा हिन्दी भाषालाई कामकाजी भाषा बनाउने मनसाय हो भने त्यसमा एमालेको कुनै समर्थन हुँदैन,’ ज्ञवालीले भने ।

नेता ज्ञवालीले तराई र मधेसका नाममा अलग अलग राज्य बनाउने सोचले जनताको वर्गीय हित गर्न नसक्ने पनि बताए । प्रशिक्षणमा नेपालको परराष्ट्र मामिलाबारे एमाले केन्द्रीय सदस्य डा राजन भट्टराई र विकासका आयामबारे केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिए । आइतबारदेखि सुरु प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्