तराई डुवेका बेला राजपा नेता सत्ता गलफत्तीमा, धुर्मुस–सुन्तली धनुषा–महोत्तरीतिर


३० साउन । ‘पहाडमा पहिरो जाँदा तराईलाई दुख्नुपर्छ, तराई डुब्दा पहाडलाई पनि दुख्नुपर्छ’ अबिरल समाजसेवामा समर्पित धुर्मुस–सुन्तली अहिले यही अभियान लिएर तराईका बस्तीमा राहत बोकेर पुगेका छन् ।

केही दिनको अबिरल वर्षापछि तराईका विभिन्न जिल्ला डुवानमा परेपछि यो जोडी औषधिलगायतका सामग्री बोकेर तराईका धनुषा, सर्लाहीलगायतका जिल्ला पुगेको हो । तराई–मधेसका जनताको ठेक्का लिएको भाषणा छाँट्ने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेता आइतबार चुनाव चिन्ह छाता जसरी पनि पाउनुपर्छ भन्दै बालुवाटारमा गलफत्ती गरिरहँदा धुर्मुस–सुन्तली भने तराईमा राहत तथा उद्धारमा व्यस्त थिए ।

हिमाल, पहाड र तराईका जनताको नेताहरुले फटाएका मन मात्र होइन भत्किएका घर पनि जोड्दै हिडेका यी जोडीले तराईमा अबिरल वर्षाका कारण पूरै डुवानमा परेका जिल्लाहरुमा त्यही बसेर राहत तथा उद्धारमा खट्ने जानकारी दिएका छन् । ‘अबिरल वर्षपछि तराईका धेरै जना मानिसहरु पीडामा परेका छन्,’ सिताराम कट्टेल धुर्मुसले पहिलो न्युजसँग भने, ‘उहाँहरुको उद्धार तथा राहत वितरणका लागि हामी धुर्मुस सुन्तली फाउण्डेशनका तर्फबाट राहतका प्याकेज लिएर धनुषा पुगेका छौँ ।’

उनले आइतबार मात्रै एक सय बढीको उद्धार गरेको जानकारी दिए । ‘विपद्मा सबै नेपाली अनिवार्य जुट्नुपर्छ,’ उनले भने, ‘मानवता र सद्भावका लागि सहकार्य अहिलेको आवश्यकता हो । हिमाल पहाड तराई कोही छैनौं पराई ।’ उनले सर्लाहीमा धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा निर्माण गरेको मुसहर वस्ती तराईमा डुवान हुँदा पनि सुरक्षित रहेको भन्दै राहत वितरणका क्रममा त्यो वस्तीमा पनि पुग्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्