तरुण दलमा नेताहरुले गरे भागबन्डा, अध्यक्षमा बस्नेत छानिए


 

१ मंसिर । नेपाल तरुण दलको अध्यक्षमा जितजङ्ग बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् । पोखरामा सम्पन्न दलको चौथो महाधिवेशनले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको सम्मेलन उद्घाटन भएको पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरिएको हो । कांग्रेसले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताहरुले भागबन्डाका आधारमा पदाधिकारी चयन गरेका हुन् ।

अध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन् भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट हुन् । संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्काे बैठकले काठमाडौँमा तय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्