तामाकोशी आयोजनाविरुद्ध विगूबासीले बनाए संघर्ष समिति


दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले मूहान र संरचनास्थल रहेको गाउँपालिकाबासीलाई नै असमान तरिकाले सेयर वितरण प्रक्रिया अघि बढाउन खोजेपछि स्थानीय आन्दोलित भएका छन् । विगू गाउँपालिका–५ चिलंखा र विगु–७ का स्थानीयले असमान सेयर वितरण तयारीविरुद्ध संघर्ष समिति घोषणा गरेका हुन् ।
चिलंखामा वुधबार वडाअध्यक्ष मधुकर गुरुङको उपस्थितिमा सम्पन्न भेलाले राजनीतिज्ञ तथा समाजसेवी प्रविणकुमार खड्का संयोजक रहेको ६४ सदस्यीय सेयर वितरण सरोकार संघर्ष समिति घोषणा गरेको छ । विगु गाउँपालिका माथिल्लो तामाकोशी जलविद्युत आयोजना सरोकार समितिका सदस्य रितेश खड्काका अनुसार वुधबारकै भेलाले साविकको विगु गाविसमा पनि स्थानीय समाजसेवी यमबहादुर सोडारी संयोजक रहेको ४६ सदस्यीय अर्को संघर्ष समिति पनि घोषणा भएको छ । उनले केही दिनभित्रै खोपाचागु, आलम्पु, लादुक, वुलुङ, ओराङ, लामाबगरलगायत सबै वडाहरुमा क्रमश ः संघर्ष समिति घोषणा हुने जानकारी पनि दिए ।
४ सय ५६ मेगावटको मुलुकको राष्ट्रिय गौरवको आयोजनाको काम ९४ प्रतिशत सकिएपछि तामाकोशीले जिल्लाबासीका लागि छुट्याइएको १० प्रतिशत सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । तर, आयोजनास्थल रहेको गाउँपालिकाबासीलाई नै क, ख र ग गरेर छुट्टाछुट्टै वर्गमा राख्ने तर अन्य गाउँपालिकाका धेरै वडाहरुलाई भने ख वर्गमा राखेर सेयर वितरण गर्ने तयारी गरेको छ ।
मुलुकमा संघीय संरचना लागू भएर स्थानीय तहको सरकार बनिसकेपछि पनि आयोजनाले पुरानै संरचनाका गाविसलाई आधार मानेर सेयर वितरण गर्ने तयारी गरेपछि स्थानीयबासीहरुले गाउँ र राजधानी काठमाडौं दुवैतर्फबाट आन्दोलन सुरु गरेका छन् । उनीहरुले सेयर वितरण प्रक्रिया नै अबरुद्ध गर्ने चेतावनी दिँदै आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने अन्तिम तयारी गरिरहेका छन् । काठमाडौंमा पासाङ शेर्पा संयोजक र अमृतकुमार खड्का सहसंयोजक रहेको सरोकार समितिले असमान सेयर वितरण तयारीविरुद्ध निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आयोजनास्थल रहेका विगू र गौरीशंकर गाउँपालिकालाई क वर्गमा राख्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्