तिमी आज उपवास बस्यौ…


भोकै बस्यौ, प्यासै बस्यौ,
आफ्नो जीवन साथीका लागि…
आफ्नो दाम्पत्य जीवनको सफलताका लागि
उल्लास छरेर बस्यौ ….!

समर्पण भावको हिउँचुली बनेर …
जीवनको सबैभन्दा खुसीको
क्षण मानेर …!
हाँसो र खुसी छरेर बस्यौ,
भोक, प्यास र थकानलाई कुल्चँदै,
हाँसो छरेर बस्यौ, खुसी बाँडेर बस्यौ ..!

पटकपटक तिमीले
विश्वास र समर्पणको
परीक्षा दिँदै आएकी छौ,
र, प्रत्येक परीक्षामा उत्तीर्ण हुँदै पनि आयौ…
तर परीक्षा दिइरहने, उत्तीर्ण भइरहने,
तिम्रो संकल्प भने जारी छ ..!

तिम्रो संकल्पको निरन्तरतालाई
हृदयदेखि सम्मान चढाउँछु ..
र, श्रद्धापूर्वक हात उठाएर सलाम गर्दछु …!

(तीज मनाइरहेका दिदी बहिनीहरूका लागि)

प्रतिक्रिया दिनुहोस्