तिलाठी पुग्यो अनेरास्ववियु, भारतले हस्तक्षेप गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी


१८ साउन । बाढीपीडितलाई राहत वितरण गर्न पूर्वी तराईका जिल्ला गएको अनेरास्ववियुको टोली मंगलबार सप्तरीस्थित तिलाठी गाउँमा पुगेको छ । सप्तरीको तिलाठीमा भारतीय पक्षले नेपाली सीमा मिचेर बनाएको बाँध गत साउन १३ मा नेपालीले भत्काइ दिएपछि त्यहाँ झडप भएको थियो ।

भारतीयहरुको मिचाहा प्रवृत्तिको प्रतिकारमा उत्रिएका करिब एक दर्जन नेपाली त्यसबेला घाइते भएका थिए । त्यहि ठाउँको अवलोकन गर्न अनेरास्ववियुकी अध्यक्ष नविना लामासहितका टोली त्यहाँ पुगेको हो ।
अवलोकनपछि अध्यक्ष लामाले भारतीय पक्षले एकलौटी तरिकाले खाडो नदीमा बाँध बाँधेर तिलाठी गाउँलाई डुवान पार्न खोजेकोप्रति अनेरास्ववियु दुःखी भएको बताइन् । ‘अनेरास्ववियुले भारतीयहरुको यस्तो मिचाह प्रवृत्तिको खुलेर विरोध गर्छन,’ लामाले भनिन्, ‘भारतीय पक्षले तिलाठीबासीलाई दिएको दुःखप्रति अनेरास्ववियु टुलुटुलु हेरेर बस्दैन ।’

राष्ट्रिय स्वाभिमानका लागि अखिलले आवज उठाउँदै आएको र राष्ट्रिय स्वभिमानका लागि अखिलले कुनै पनि सम्झौता नगरी मातृभूमिको रक्षाका लागि जहिल्यै लड्दै आएको लामाले बताइन् ।

अवलोकनमा अध्यक्ष लामासहित पार्टी केन्द्रीय सदस्य सुमन प्याकुरेल, अखिल उपाध्यक्ष शैलेश लामा, सचिव मकर खड्का, सचिव आरती लामा, प्रवक्ता तथा तथा प्रचार विभाग प्रमुख सुदीप शर्मा, कल्पना वाइवा, सचिवालय सदस्य केशव चाम्लिङ, इन्द्रहाङ राइ, सन्दीप पोखरेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्