तिल्मिलाए मधेसी मोर्चा र काँग्रेस


१६ फागुन । जतिसुकै बल गरे पनि संविधान संशोधन प्रस्ताव पारित नहुने र तराई–मधेसमा आफूहरुले लिएर जाने कुनै राजनीतिक एजेन्डा बाँकी नरहेपछि संयुक्त मधेसी मोर्चा तिल्मिलाउन पुगेको छ । पछिल्लो समय त मोर्चामा फुटको संकेत समेत देखा पर्न थालेको छ । र, विस्तारै जनाधारसमेत गुमाउँदै गएपछि मधेसी मोर्चाले तराई–मधेसमा हिंसात्मक क्रियाकलाप प्रदर्शन गरेर अशान्ति र अस्थिरता निम्त्याउन चाहिरहेको देखिन्छ ।

आइतबार मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहटको गौरमा आयोजित नेकपा (एमाले) को कार्यक्रम बिथोल्न जुन हर्कत देखाए, त्यसले उनीहरुमा उब्जिएको हतास मनस्थितिको पर्दाफास मात्र गरेको छ । तराई मधेसमा एमालेको पक्षमा जनलहर उर्लन थालेपछि आत्तिएको मधेसी मोर्चाले जसरी भए पनि एमालेको कार्यक्रम बिथोल्ने र एमालेविरुद्ध जनतालाई भड्काउने रणनीति अँगालेको देखिएको छ ।

एमालेलाई किन रोक्न चाहन्छ ?

शनिबार गौरमा एमालेले वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त भेलालाई सम्बोधन गर्नुका साथै अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई भित्र्याएका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्ने संकेत पाए पनि एमालेको कार्यक्रममा हजारौं जनता उपस्थित रहेका थिए ।

तर, नेता नेपाल गौरमा पुग्नुअघि र पुगेपछि पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम बिथोल्न अनेक प्रयत्न गरे । उनीहरुले गौरका केही चोकमा टायर बालेर कार्यक्रम बिथोल्न खोजेका थिए । मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गौर तनावग्रस्त रहे पनि एमालेको कार्यक्रम भने सुचारु रुपले नै चलेको थियो । त्यही कार्यक्रममा नेपाली काँग्रेस र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का करिब ३ सय जना नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

यसअघि पनि लहानमा भएको एमाले कार्यकर्ता भेलामा मधेसी मोर्चाका कार्यकर्ताहरुले अवरोध पु¥याउन खोजेका थिए । तर, प्रहरीले मोर्चाका कार्यकर्तालाई तितरवितर पारेको हुँदा लहानको कार्यक्रम सफल भएको थियो । केही दिनअघि, जनकपुरमा पनि एमालेको कार्यक्रममा मोर्चाले अवरोध पु¥याएको थियो ।

एमालेले यही फागुन २१ गतेदेखि मधेस जागरण अभियान प्रारम्भ गर्न लागिरहेको छ । तराई–मधेसका २२ जिल्लामा अभियान सञ्चालन गर्न लागिरहेको एमालेले पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म अभियान पु¥याउने तयारी गरिरहेको छ । तर, एमालेले तराई–मधेसमा अभियान सञ्चालन गर्ने भएपछि आत्तिएका मधेसी मोर्चा र काँग्रेसले समेत अहिले तराईका जनतालाई एमालेविरुद्ध भड्काउन अग्रसरता लिइरहेका छन् । गौर घटनालाई त्यसकै पूर्वाभ्यास मान्न सकिन्छ ।

काँग्रेसको आफ्नै दाउ

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि मधेसी मोर्चाले तराई मधेसमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र निर्वाचनमा जानुपर्ने अडान राख्दै आएको मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनको कार्यक्रम अघि सारेको हो । र, तराई मधेसमा अहिले मोर्चाले छिटफुट रुपमा आन्दोलन गरिरहेको छ ।

तर, तराई मधेसमा एमालेले अभियान सञ्चालन गर्दा मधेसी मोर्चालाई मात्र टाउको दुखाइको विषय बनेको छैन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई त झनै टाउको दुख्न थालेको छ । सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेका गृहमन्त्री निधिले आइतबार लहानको एउटा कार्यक्रममा एमालेलाई मधेस विरोधी प्रमाणित गर्न जुन कसरत गरे, त्यसमा उनी मधेसी मोर्चाभन्दा एक कदम अघि बढेको देखिन्थ्यो ।

दोस्रो संविधानसभाको चुनावमा तराईमा एमाले र काँग्रेसबीच नै प्रतिस्पर्धा भयो । अब हुने स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पनि मधेसमा एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । आफ्नो प्रमुख प्रतिस्पर्धीलाई मधेस विरोधी देखाएर आफूतिर जनमत तान्न निधिले जतिसुकै प्रयत्न गरे पनि सरकारमा भएका बेला काँग्रेसले तराई मधेसको विकासका निम्ति देखाएको उदासिनताले नै कुन दल मधेस विरोधी हो र कुन होइन भन्ने स्वतः प्रमाणित हुँदै आएको छ ।

मधेसी मोर्चामा विवाद

संविधान संशोधन प्रस्ताव जसरी भए पनि पारित गराएरै छाड्ने पक्षमा उभिएको मधेसी मोर्चाभित्र पछिल्लो समय भने एकरुपता देखिएको छैन । जसको प्रमाण, संविधान संशोधन प्रस्तावमाथिको संशोधन दर्ता गर्ने क्रममा नै देखिएको छ ।

आइतबार व्यवस्थापिका–संसद्मा संविधान संशोधनमाथि संशोधन हाल्ने क्रममा नै मोर्चा विभाजित बन्न पुगेको हो । महन्थ ठाकुर र राजेन्द्र महतोहरु संशोधन हाल्ने पक्षमा रहे पनि उपेन्द्र यादव र महेन्द्र राय यादवले भने संशोधन हाल्न नहुने अडान लिएका थिए । उपेन्द्रको संघीय समाजवादी फोरम र महेन्द्रको तमसपाले संशोधन हालेन भने तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र नेपाल सद्भावनाले मात्र संशोधन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्