तिवारी हत्याको जिम्मा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छः एमाले


४ पुस ।  युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको हत्यारालाई कारवाही गर्न एमालेले माग गरेको छ । ‘रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिडिरहेको बेला मोटरसाइकलमा आएका दुईजना अपराधीले गोली हानी हत्या गरेका छन्,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय कमरेड तिवारीको कायरतापूर्ण हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न नेकपा (एमाले) जोडदार माग गर्दछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको भन्दै एमालेले सरकारसँग सत्यतथ्य पत्ता लगाएर हत्यारालाई कारवाही गर्न माग गरेको छ  । ‘देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ । केही दिन पहिला रुपन्देहीकै भैरहवामा एकजना व्यवसायीमाथि समेत गोली प्रहार भएको कुरा यहा“नेर स्मरणीय छ । ’

एमाले महासचिव ईश्वर पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई हाम्रो पार्टी आग्रह गर्दछ ।’हत्या भएका तिवारीप्रति एमालेले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन एवम् पार्टी र युवा पंक्तिमा गहिरो समवेदना प्रकट पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्