तीनतिर फर्किएका एमाले शीर्ष नेता एउटै मञ्चमा, पार्टीमा कुनै विवाद नरहेको उद्घोषपछि कार्यकर्ता उत्साहित


५ वैशाख। केही दिन अघि मात्रै नेकपा (एमाले) काठमाडौँको विवादको विषयलाई लिएर समानान्तर भेलाको आयोजना गरेपछि एमालेका आम कार्यकर्ता निराश बनेका थिए ।

स्थानीय निर्वाचनको मुखैमा काठमाडौँ एमालेमा विवाद भएपछि त्यसको प्रत्यक्ष असर काठमाडौँ महानगरकालिकामा मात्रै नभई देशै भरी पर्ने भन्दै सामाजिक सञ्जालतिर पनि एमालेका सुभेच्छुकहरुले निकै चिन्ता व्यक्त गरेका थिए ।

तर, त्यसको एक हप्ता पनि वित्न नपाउँदै एमालेका शीर्ष नेताहरु एकै मञ्चमा भेला भएर सिङ्गो पार्टी नै एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने उद्घोष गरेपछि त्यहाँ उपस्थित आम कार्यकर्ता उत्साहित भएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको केन्द्रीय सम्पर्क भेलामा कार्यबाहक अध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल मात्र होइन महासचिव ईश्वर पोख्रेलले पनि एकै स्वरमा पार्टी एक भएर गए मात्र निर्वाचन जित्न सकिने भन्दै एकताबद्ध भएर निर्वाचनमा जाने बताए ।

कावा अध्यक्ष गौतमले एक भएर पार्टी निर्वाचनमा लाग्नुको विकल्प नभएको भन्दै स्थानीय तहको निर्वाचनपछि देशमा नयाँ युगको थालनी हुने बताए । उनले त्यसो भन्दा हलभरी ताली गुञ्जिएको थियो ।

कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि निर्वाचनका बेला पार्टी एकताबद्ध भएर लागे निर्वाचन जितिने धारणा राखे । उनले सिङ्गो पार्टी एकताबद्ध भएर लागे मात्र विजय प्राप्त गर्न सकिन्छ भन्दै आन्तरिक एकतामा जोड दिए ।

एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीमा रहेका मतभेद हटाई निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नभएको बताए ।

पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेकाले त्यसप्रति सजग हुनुपर्नेमा जोड दिए । यसरी सबै नेताले एउटै मञ्चवाट पार्टी एकताबद्ध रहेको सन्देश दिएपछि कार्यकर्ता पनि थप उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्