तीन ठूला दलको अर्जुनदृष्टि २ नम्बर प्रदेशको चुनावमा


१५ साउन । मधेस केन्द्रित राजनीति गरिरहेको राजपाले अवरोध पु¥याएन भने प्रदेश नं. २ का ८ जिल्लाको स्थानीय तहको निर्वाचन आउन अब डेढ महिना बाँकी छ । तर, प्रमुख तीन दल नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले भने आफ्नो अर्जुनदृष्टि अहिले २ नम्बर प्रदेशमा केन्द्रित गरेका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षाकृत रुपमा सफलता पाउन नसकेको कांग्रेसले २ नम्बर प्रदेशको निर्वाचनलाई ‘जीवन–मरण’ को संज्ञा दिँदै सो प्रदेशमा केन्द्रित तुल्याएको छ । माओवादी केन्द्रले पनि अघिल्ला दुई चरणमा भोग्नुपरेको पराजयको पीडा २ नम्बरमा धेरै तह जितेर साम्य पार्न चाहेको छ । अघिल्ला दुवै चरणको निर्वाचनमा पहिलो शक्ति बन्न सफल एमालेले भने सो प्रदेशमा पूर्ववत शक्ति कायम राख्न प्रदेश केन्द्रित अभियान थालिसकेको छ ।

यस्तो छ एमालेको तयारी

स्थानीय तहको दुवै चरणको निर्वाचनमा पहिलो स्थान ल्याउन सफल एमालेले २ नम्बर प्रदेश केन्द्रित चुनावी अभियान थालिसकेको छ । सो प्रदेशका ८ जिल्लामा एमालेले पदाधिकारी तहका नेताहरुलाई खटाइसकेको छ । आवश्यक परे कांग्रेसबाहेक अरु राजनीतिक दलसँग चुनावी सहकार्य गरेर जाने नीति लिएको एमालेले सो प्रदेशमा पनि पहिलो शक्ति बन्ने गरी चुनावी अभियान थालनी गरेको छ ।

सो प्रदेशको ८ जिल्लाका १ सय २७ तहमध्ये बहुसंख्यक तहमा चुनाव जित्ने लक्ष्य लिएर एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा चुनावी अभियान सुरु भएको छ । महासचिव पोखरेलको राजनीतिक जीवन यात्रा सोही प्रदेशबाट प्रारम्भ भएको र उनले मधेस बुझेका हुँदा पार्टीले चुनावको कमान्ड गर्ने जिम्मेवारी दिएको छ ।

अबको डेढ महिनासम्म एमालेका पदाधिकारीहरु मधेसका ८ जिल्लामै केन्द्रित हुने छन् । जसमा महासचिव पोखरेलले महोत्तरी, उपमहासचिव विष्णु पौडेलले बारा र घनश्याम भुसालले रौतहट, सचिव पृथ्वी सुब्बा गुरुङले पर्सा, प्रदीप ज्ञवालीले सिरहा, भीम आचार्यले सप्तरी, गोकर्ण विष्टले सर्लाही र योगेश भट्टराईले धनुषा जिल्लामा रहेर चुनावी अभियानलाई तीव्रता दिने छन् ।

एमालेले सो प्रदेशका धेरैजसो तहमा यसअघि नै उम्मेदवार चयन गरिसकेको छ । असार १४ गते निर्वाचन हुने तय भएसँगै सो प्रदेशका धेरैजसो तहमा एमालेले उम्मेदवार चयन गरेको थियो । मधेसको जिम्मेवारी पाएका पदाधिकारीहरुले अब उम्मेदवार चयन गर्ने र तालमेल हुनसक्ने ठाउँमा सोहीअनुरुप गृहकार्य गरेर अरु दलसँग तालमेल गर्ने कामलाई अगाडि बढाउने जनाइएको छ ।

कांग्रेस आक्रमक

दुवै चरणको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिनु परेको नेपाली कांग्रेसले २ नम्बर प्रदेशबाट धेरै अपेक्षा राखेको देखिन्छ । सो प्रदेशमा एमालेको भन्दा एकाध सिट बढी ल्याएरै भए पनि पहिलो स्थानमा पुग्ने लक्ष्य कांग्रेसले राखेको छ । कांग्रेसले आवश्यक परे मधेस केन्द्रित राजनीति गरिरहेका दलहरुसँग सहकार्य गर्ने संकेत देखाएको छ ।

सो प्रदेशमा कांग्रेसले नेता विमलेन्द्र निधिलाई कमान्ड गर्ने जिम्मेवारी दिएको छ । नेता निधिको गृहप्रदेश भएका कारण पनि कांग्रेसले उनैलाई चुनावी नेतृत्वको जिम्मा दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अघिल्ला दुई चरणको निर्वाचनमा कांग्रेसले गुमाएको साख २ नम्बर प्रदेशको निर्वाचनबाट फिर्ता ल्याउनुपर्ने बताउँदै आएका छन् । कांग्रेसका साख फर्काउनकै लागि निधिलाई सो प्रदेशको कमान्डर बनाएर कांग्रेसले खटाएको बुझिन्छ ।

सो प्रदेशका मतदाताले कसलाई चाहेका छन् भन्ने कुरा नै नबुझी नेता निधि भने एक सय तहमा चुनाव जित्ने सपना देख्दै हिँडिरहेका छन् । पछिल्ला दिनहरुमा आफ्नो गृहजिल्ला धनुषा झरेर निधिले सय तहमा जित्ने दाबी दोहो¥याउँदै आएका हुन् । १ सय २७ तह रहेको सो प्रदेशमा कांग्रेसले अरु दलसँग तालमेल गरे पनि एमालेलाई उछिन्न नसक्ने बताइन्छ । एमालेले देशभरि पाएको सफलता र सो प्रदेशको विकासमा पु¥याएको योगदानका कारण सो प्रदेशमा पनि एमाले नै पहिलो शक्तिको रुपमा उदाउने अनुमान गर्न थालिएको छ ।

धेरै तहमा जित्ने माओवादीको आशा

एमाले र कांग्रेसले जस्तै माओवादी केन्द्रले पनि २ नम्बर प्रदेशमा सम्मानजनक स्थान ल्याउन चुनावी अभियानको थालनी गरिसकेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोही प्रदेशको सिरहा–५ बाट चुनाव जितेका हुँदा र सो प्रदेशका अरु निर्वाचनमा क्षेत्रमा पनि माओवादीले अपेक्षाकृत रुपमा चुनाव जितेको हुँदा स्थानीय तहको निर्वाचनमा पनि राम्रै स्थान ल्याउने आशा माओवादीले राखेको बताइन्छ ।

चुनावी अभियान थालनी गर्नुपूर्व माओवादीले सो प्रदेशका नेता–कार्यकर्ताबीच प्रशिक्षण चलाउने भएको छ । पहिला आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित तुल्याएर मात्रै चुनावी अभियानमा होम्ने तयारीमा माओवादी केन्द्र लागेको छ । आफूले चुनाव जितेको प्रदेशसमेत भएको हुँदा त्यसका निम्ति अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले सो प्रदेशको चुनावी अभियानलाई गति दिने तयारी थालेका छन् ।

चुनावमा धेरैभन्दा धेरै सफलता हात पार्ने दाउमा लागेको माओवादी केन्द्रले उम्मेदवार चयनमा ढिलाइ नगर्ने देखिएको छ । कांग्रेसले यसअघि सो प्रदेशका उम्मेदवार चयन नगरे पनि एमाले र माओवादी केन्द्रले भने बहुसंख्यक तहमा यसअघि नै उम्मेदवार चयन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्