तीन प्रदेश अर्थमन्त्रीको नजरमा केन्द्र सरकारको बजेट


सरकारले जेठ १५ गते ल्याएको बजेटको सिंहदरवारदेखि संसद, प्रदेश र स्थानीय तहमा यतिवेला चर्चा चुलिएको छ । कतिपयले बजेट राम्रो भनेका छन भने कतिपयले आलोचना गरिरहेका छन । यसबीचमा प्रदेश ३, ४ र कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीहरुको नजरमा केन्द्र सरकारको बजेट यस्तो छः
प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ
अपेक्षाकृत रुपमा संघको बजेट वितरणमुखी भन्दा पनि उत्पादन मुखी आएको छ । यो ठिकै बजेट आएको छ भन्ने लागेको छ । यो बजेटले संघ र स्थानीय तहलाई जति दिनुपर्ने हो दिन सक्या छैन । केन्द्रिकृत मानसिकताको आधारमा यो बजेट बिनियोजन भएको छ । संविधानले राजस्व बाँडफाँड गर्ने भनेर भनिएको थियो त्यो संघले गर्ने भन्दा पनि त्यो एउटा सिद्धान्तमा बसेर गर्नुपर्ने त्यो देखिएन । बजेट खर्च गर्ने खालको संरचना छैन भनेर पनि पछि क्रमश लागु गर्दै जाने भन्ने नामबाट प्रदेश र स्थानीय तहलाई थप बजेट छुट्टयाउने त्यो अनुदानको रुपमा आउने बजेट र बाँडफाँड गर्ने कुरामा कन्जुस्याई गरेको छ । अहिले स्थानीय तह र प्रदेशमा पठाउनुपर्ने जनशक्तिहरु, संरचना हस्तारणतरण गरिसकेको अवस्था पनि छैन, त्यो ढिलो पनि भइरहेको छ । हिजो केद्रकृत शासन प्रणाली अनुसार आयोजना , बजेट बनी सञ्चालन भएका थिए । अब कुन कुन कार्यक्रमहरु हामीले बनाउनुपर्ने हो अझै सम्म पनि जानकारी छैन । रातो किताबमा विनियोजन भएको छ भन्ने कुरा अझैसम्म जानकारी छैन । बजेट बनाउन समस्या छ । बजेट वितरणमुखी होइन उत्पादन मुखी नै ल्याउछौ । बजेट भौतिक पूर्वाधार, पर्यटन, उर्जा कृषि, शिक्षा र स्वास्थ्यलाई पनि एकीकृत ढंगले अगाडि बढाउने प्राथमिकता तोक्दै बजेट अगाडि ल्याउनेछौ । ५१ प्रतिशत बजेट पुजीगत हिसाबले खर्च गर्ने योजना छ । १९ अर्ब बजेट र राजस्व संकलन गर्ने , क्रण राजस्वको आधारमा १० प्रतिशत गरि २६ अर्ब बजेट ल्याउदै छौ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला
संघीय सरकारले ल्याएको बजेट आर्थिक अनुसासनको दृष्टिले राम्रो छ । यसले वित्तिय अनुशासन कायम गर्नका लागि महत्वपूर्ण काम गरेको छ । सस्तो लोकप्रियताका लागि पपुलिस्ट कार्यक्रमहरु ल्याउने गरिन्थ्यो त्यसलाई नियन्त्रण गरिएको छ । पाँच वर्षसम्म सञ्चालन हुने सरकारमा पपुलिस्ट भन्दा आर्थिक स्थिरता ल्याउने बजेट उचित हो । केन्द्रको बजेटले कर्णाली प्रदेशलाई सम्बोधन गर्न सकेन कि भन्ने जनगुणासो पनि छ । यो बजेटले संघीयताको भावनालाई समेटेन । केन्द्रिकृत मानसिकताबाट बजेट बन्यो । संघीयतालाई बलियो बनाउनेगरि बजेट ल्याउनुपथ्र्यो तर भएन । मन्त्रालयको बजेट ७ वटै प्रदेशकोभन्दा पनि बढी छ । काम जति प्रदेशलाई बजेटजति केन्द्रमा राख्ने ?

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल
केन्द्र सरकारले बजेटलाई पुरानो केन्द्रकृत शाषणबाट गाइडेड भएर धेरै वर्षअघिदेखि सिंहदरवारको झ्याल ढोकाले सम्झदा सम्झदा पुरानै कुरा सम्झेको देखिन्छ । प्रदेशलाई पठाउनुपर्ने स्रोत साधन एकदम थोरै छ । प्रदेशको बजेट असार १ मा ल्याउछौ । पहिलो वर्ष भएकाले जोश जागर त छ तर अनुभवका हिसाबले नयाँ छौ । स्रोत साधन कम छ । केन्द्रबाट आउने बजेट र करबाट जम्मा हुने रकम ठुलो छैन । प्रदेशभित्रका कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेका छौ ।

प्रतिक्रिया दिनुहोस्