तुलसीपुर उपमहानगरले बाँड्न थाल्यो ज्येष्ठ नागरिकलाई न्याना कपडा


२४ पुस । बढ्दो शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित हुन थालेपछि केही स्थानीय तहले भने आफ्नै पहलमा न्यानो कपडा वितरण गर्न थालेका छन् । यसै क्रममा तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरेर न्यानो कपडा वितरण गर्न थालेको छ ।

सो उपमहानगरपालिकाले वडा नं. १९ बाट न्यानो कपडा वितरण गर्न थालेको हो । सो वडाकी सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरे ।

उपमहानगरपालिकाले दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । सो वडाभित्रका १६ जनामध्ये नौ जनालाई कपडा वितरण गरिसकिएको छ भने अन्यलाई पनि तत्काल गरिने जनाइएको छ । सो अवसरमा टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको थियो । सो अवसरमा वृद्धवृद्धाको स्वास्थ्य जाँचसमेत गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन आफूहरुले न्यानो कपडा वितरण गरेको बताए । यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । सो वडामा रहेका ८४ वर्ष पुगेका २८ जना वृद्धवृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्