त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्तीको माग गर्दै गोविन्द केसी अनशनमा


 २८ कात्तिक । बरिष्ठताका आधारमा डिन नियुक्त नगरेको लगायतका विभिन्न नौँ सुत्रीय माग राख्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी १० औं पटक आमरण अनसनमा बसेका छन् । भन्दै केसीले आइतबार ५ बजेदेखि अनसन सुरु गरेका हुन् ।

  केसीले मागमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका माग विभिन्न नौ वटा माग अघि सारेका छन् । उनले डिन नियुक्त गर्न सरकारलाई आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए । उनले माग पूरा नभएको भन्दै अनसन सुरु गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयले आइतबार मात्र नियुक्त गरेका डा केशवप्रसाद सिंहको नियुक्तिलाई समेत अमान्य भनेका छन् । वरिष्ठताका आधारमा डा. जगदिशचन्द्र अग्रवाललाई डिन नियुक्त गर्नु पर्ने केसीको माग छ ।

उनले मागको एक नम्बर बुँदामै वरिष्ठताका आधारमा तत्काल आइओएममा डीन नियुक्त गर्नुपर्ने र  नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने उल्लेख छ । आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाउनु पर्ने, त्यसो नहुन्जेल पहिलेको सहमतिबमोजिम अधिकतम आर्थिक, प्रशासनिक र शैक्षिक स्वायत्ततालाई पूर्ण कार्यान्वयनमा ल्याउनु पर्ने जस्ता विषयलाई पनि मागका रुपमा उठाएका छन् ।

उनले चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गर्नुपर्ने जस्ता माग पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्