त्रिशूली बस दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या नाै पुग्याे, कम्तीमा २० बेपत्ता


धादिङ, २५ साउन ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटनजिकै त्रिशूलीमा बस खस्दा बेपत्ता भएकामध्ये नौजनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरिएको छ भने २० भन्दा बढी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको सृष्टि डिलक्सको ना.६ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा खसेको थियो । दुर्घटनाका घाइतेलाई राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।

दुर्घटनास्थलमा राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र सौरभ रौनियारको शव फेला परेको धादिङ प्रहरीले जनाएको छ । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले चितवनको जुगेडीमा एक पुरुष, चितवनकै कालीखोलामा एक महिला, चितवन र गोरखाको सिमानामा एक पुरुष र नवलपुरमा एक महिलाको शव भेटिएको जानकारी दिए । त्यस्तै, तनहुँ देवघाटमा एक बच्चा र महिलाको शव फेला परेको छ ।

बसमा मलंगवाबाट ४० र हरिहरपुरबाट दुईजना यात्रु टिकट काटेर चढेका थिए । त्यस्तै, चालक र सहचालक तीन जना तथा बीच बाटोमा चढेर क्याबिनमा बसेका चार जना गरी ४९ जना सवार रहेको जीवितै उद्दार गरिएका यात्रुले जनाएका छन् ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङ, सशस्त्र प्रहरी बल आदमघाट, देवीदत्त गण गजुरीबाट प्रहरी र सेनाको टोली उद्दारमा खटिएको थियो । रेडक्रसको टोली र स्थानीयले उद्धारमा सघाएका थिए । दुर्घटनास्थल भिर भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । जीवितै उद्धार गरिएकामा भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र संजय महतो छन् । जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको छ । नदीमा डुवेको बस दिउँसो क्रेनको सहायतामा किनारमा तान्दा बसभित्र कोही पनि नभेटिएको प्रहरी उपरीक्षक वैदवारले बताए ।

 

प्रतिक्रिया दिनुहोस्