दलहरु सहमति नजिक, भूकम्पपीडितले पहिलो किस्तामा रु डेढ लाख पाउने


१४ असार । भूकम्पपीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच मंगलबार भएको छलफल सहमति नजिक पुगेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलले यसअघि राख्दै आएको एकमुष्ट रु दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा रु डेढ लाख र दोस्रो किस्तामा रु ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए ।
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो ।
पहिलो किस्तामा डेड लाख दिन मिल्ने वा नमिल्ने विषयमा अर्थ मन्त्रालय र पुनःनिर्माण प्राधिकरणले थप गृहकार्य गरेर बुधबारथप छलफल गर्ने सहमति भएको गिरीले जानकारी दिए ।

विश्व बैंकसँग यसअघि कांग्रेस नेतृत्वकै सरकारले गरेको सहायता रकम वितरणबारेको सम्झौतालाई समेत मध्यनजर गर्दै टुङ्गोमा पुगिने उनको भनाइ छ ।

कांग्रेस नेता एवम् कार्यदलका सदस्य डा प्रकाशशरण महतले बैठकमा भूकम्पपीडितलाई एकमुष्ठ रकम दिने विषयमा सत्ता साझेदार दल माओवादीसमेत सहमत भएको तर एमालेका कारण निष्कर्षमा पुग्न समस्या परेको बताए ।

कांग्रेसले एकमुष्ठ रु दुई लाख भूकम्पपीडितलाई दिनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्