दलीय सहमतिमा संविधान संशोधन प्रक्रियाः प्रचण्ड


काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान कार्यान्वयन क्रममा दलीय सहमतिमा संविधान संशोधन प्रक्रिया समेत सुरु भएको दाबी गरेका छन् ।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशोधन प्रक्रियाले छिट्टै पूर्णता पाउने पनि दाबी गरे ।

नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको उनको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले सरकारले स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनको तयारी समेत थालेको जानकारी दिए । नयाँ संविधानले राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिमा कोसेढुङ्गा सावित गर्ने उनको भनाई थियो ।  सार्कको बडापत्र अनुसार सार्कले यस क्षेत्रको जनताको आर्थिक एवम् सामाजिक समृद्धिमा प्रभावकारी काम गर्न नसकिरहेको चर्चा गर्दै उनले अब यसको पुनःसंरचना गर्न आवश्यक रहेकोमा जोड दिए ।

सभामुख ओनसरी घर्तीले सार्कको १९ औँ शिखर सम्मेलनलाई अझ प्रभावकारी बनाउन सरकार प्रमुखलाई सुझाव दिन सम्मेलनले योगदान दिने विश्वास व्यक्त गरिन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिण एसिया मानवीय र प्राकृतिक स्रोतमा धनी भए पनि यसको सही उपयोग हुन नसक्दा चरम गरिबीको मार खेप्नुपरिरहेको बताए ।  उनले आगामी दिनमा सार्कले पर्यटन प्रवद्र्धन, खाद्य सुरक्षा आर्थिक समृद्धिमा मिलेर काम गर्न सुझाव दिए ।  पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सार्कको प्रभावकारिताका लागि यस्ता सम्मेलनबाट दिने सुझाव महत्वपूर्ण हुन्छ भनिन् ।
सम्मेलनको उद्घाटनसत्रमा समितिका सभापति प्रभु साहले सम्मेलनमा विभिन्न पाँच विषयमा कार्य प्रस्तुत गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्