दसैंअघि डेढ लाख पीडित नयाँ घरमा


साउन ४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले भूकम्पप्रभावित क्षेत्रका सांसदहरुलाई एक–एकवटा नमूना एकीकृत बस्ती निर्माणको नेतृत्व लिइ दिन आग्रह गरेका छन् । पुनर्निर्माणको क्षेत्रमा भइरहेको कामकार्बाहीबारे विकास समितिले आयोजना गरेको छलफल कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै डा.पोखरेलले भूकम्पप्रभावित क्षेत्रका मात्र करिब दुई सय सांसद रहेकाले उनीहरुले त्यो नेतृत्व लिइदिए निजी आवास निर्माणमा ठूलो योगदान हुने बताए ।

पुनर्निर्माणको क्षेत्रमा भइरहेको प्रगतिबारे जानकारी दिन विकास समितिले प्राधिकरणका कार्यकारी अधिकृतलगायतका उच्च अधिकारीहरुलाई आफ्नो कार्यालयमा बोलाएको थियो । छलफल कार्यक्रममा सांसदहरुले एक दर्जनभन्दा बढी सांसदले मूलतः निजी आवास पुनर्निर्माणको सम्बन्धमा स्थानीयले भोगिरहेका समस्याबारे जिज्ञासा राखेका थिए ।

अधिकांश सांसदहरुको जोड मापदण्डलाई खुकुलो बनाउनुपर्ने, प्रमाणीकरणका प्रक्रियामा ढिलाइ गर्न नहुने, आफ्नो घर निर्माण गरिसकेका पीडितलाई अनुदान दिनुपर्ने, निजी आवास निर्माणमा स्थानीय सरकारलाई अधिकार दिइनुपर्ने, सर्वेक्षणमा छुट भई अनुदानबाट वञ्चितहरुका बारेमा गम्भीर बन्नुपर्ने, भूकम्पप्रभावित बाहेकका जिल्लाहरुमा पनि जनशक्ति तालिम सञ्चालन गरी उनीहरुलाई विदेश जानभन्दा पुनर्निर्माणमा परिचालन गर्नुपर्ने लगायतका विषयवस्तु उठाइएको थियो ।

पुनर्निर्माणको क्षेत्रमा सोजेजति प्रगति नभएको हो कि भन्ने सांसदहरुको जिज्ञासामा डा.पोखरलले निर्धारित समयमा निजी आवास निर्माण तथा अन्य सार्वजनिक संरचनाहरुको पुनर्निर्माण हुने विश्वास दिलाउँदै त्यसका लागि विभिन्न नीतिगत अप्ठ्यारा फुकाउन सांसदहरुलाई आग्रह पनि गरेका थिए । पोखरेलले पुनर्निर्माणको तालिकाअनुसार काम भइरहेको विश्वास दिलाउँदै दसैअघि डेढ लाख भूकम्पपीडित नयाँ घरमा सर्ने बताए ।

छलफलपछि विकास समितिका तर्फबाट सभापति रवीन्द्र अधिकारीले प्राधिकरण र अन्य सम्बन्धित निकायलाई विभिन्न निर्देशनहरु दिएका थिए । अधिकारीले पहिलो किस्ता प्राप्त गरेर पनि लाभग्राहीको ठूलो संख्या दोस्रो किस्ता लिन नआएकोले त्यसको कारण पहिचान गर्न, शहरी विकास मन्त्रालयका प्राविधिकलाई स्थानीय सरकारको मातहतमा परिचालित हुने व्यवस्था मिलाउन, भूकम्पपपीडिले आफ्नो हिसाबले घर बनाएका छन् र ती भूकम्पप्रतिरोधी छन् भने सबै किस्ता एकमुष्ठ दिन पनि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्