दसैं र सिर्जना


दसैं

मनु मन्जिल

manu1

दसैँबाट दसैँ हराएको खबर
छ छैन अखबारमा ?

शरद भुइँमा ओर्लेको छ
स्कुल मावल गइसकेको छ
केही आएन भन्न असजिलो छ
तथापि
दसैँ नआएको कुरा कतै
छ छैन सहरमा ?

उन्नाइस तोपको सलामीले भर्खरै
टुँडिखेलको मौन घोडा
उन्नाइस पटक तर्सेको ठीक साँचो हो
क्यालेन्डरको दसैँ छुट्टीमा
यता कार्यालयबाट,
उता जिन्दगीको व्यस्त चोकबाट
समय घर भागिसकेको पनि ठीक साँचो हो
तरै दसैँ आएकै खबर नै त
ती पनि होइनन्
रेडियोको मालश्री,
अखबारको सेलिब्रिटी गफ
सरकारी गजेटको आधिकारिक सूचना…
बस यिनै माझ कतै हराएको छ
दसैँ

हलक्क हुर्किएको जमरा,
आकाशलाई माथि हुत्याउँदै मच्चिरहेको पिङ,
सुनसान गाउँको बाटामा अचानक
घर फर्किरहेका मानिसहरुका ताँती,
हृदयजस्तो एकान्त आँगनको मखमली फूल र बजारको
सपिङ सेन्टरको भीड पछिल्तिरबाट
निस्किसकेको छ दसँै

सूचनामा दसैँ आएको कुरा चाहिँ
ठीक साँचो हो ।
राष्ट्राध्यक्षको औपचारिक भाषणमा
दसैँ आएको कुरा पनि ठीक साँचो हो
रंगीन न्युज म्यागेजिनका मोटा विशेषांकहरुभित्र
दसैँ लुकिआएको कुरा पनि ठीक साँचो हो
तर दसैँ आएकै कुरा चाहिँ सही होइन

साँचो कुरा
युद्धमा मारिएका मानिसका
टुहुरा छोराछोरीलाई थाहा छ
टाढा मरुभूमिको क्षितिजमा हराएका छोरा कुरी बस्ने
जम्मै आमाहरुलाई थाहा छ

साँचो कुरा
गरिबका चीसा मझेरीहरुलाई थाहा छ
विधवाका ऐनाहरुलाई थाहा छ ।

 

बिर्खबहादुरको सपना
अमर गिरी

amarआँधीले ढालेर
कुहिन थालेका
मकैका बोटहरु हेरेर
भन्नेछ,
यसपटक बिग्रियो
तर अर्को पटक

असिनाले हिर्काएर
नांगिएका धानका बालाहरु
हेर्दै र सुस्केरा हाल्दै
भन्नेछ,
यो मौसम पनि
किन उभिएको हो मेरै विरुद्ध
तर केही छैन
आउनेछ फेरि अर्को साल

ताकेता गर्नेछ
साहुको ऋणको
कपडा पसलको प्यादा
आउने छ कम्तिमा
महिनामा पाँच पटक
तर ऊ भन्नेछ,
हजुर यस वर्ष भएन
अर्को वर्ष
चुक्ता गर्नेछु
सबै ऋण

हेर्नेछ आफूलाई
पत्नी, छोराछोरीलाई
भन्नेछ,
यस पटक यस्तै भयो
यस्तै जाओस् दसँै
यस्तै जाओस् तिहार
आउँदो साल किन्नेछौं नयाँ कपडा
अर्को साल
मनाउनेछौं चाड रमाइलोसँग

सधैँ भइरहने छैन यस्तो
पसिना हुनेछैन निरर्थक
चित्त बुझाउनेछ
र पस्नेछ सस्तो भट्टिपसलतिर
तन्काएर दुई गिलास लोकल ठर्रा
तान्दै सिगरेटको
भाँचिएको खिल्ली
हिँड्नेछ घरतिर

सपनामा बुन्नेछ बिर्खबहादुरले
सपना अर्को सालको ।

 

बाटो हेरीहेरी…
ललिजन रावल

lalijan
बाटो हेरीहेरी कति दसैँ गयो तिहार गयो
एउटै फूल नफुलेर जिन्दगीको बहार गयो

यसपालि त खेत रोप्न आउँछौ होला भन्दाभन्दै
छपछप हिलो माटोसँग खेल्ने असार गयो

व्यथा जति आँशुभित्र हुँदो होला त्यसैले त
बगाएर गाजल मेरा आँखाबाट शृंगार गयो

कोसँग म सोधूँ ऐले कसले मलाई भनी देला
किन यति चाँडो छाडी खुसी मेरो संघार गयो

आफ्नो माटो आफ्नो घाम, छायाँ तिमीले बिर्सिसक्यौ
माटोलाई माया गर्ने तिम्रो राम्रो विचार गयो

प्रतिक्रिया दिनुहोस्