दस वर्षमा तीन हजार किलोमिटर रेलमार्ग


 

काठमाडौँ, १४ असार । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिए ।
मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ । उनले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको जानकारी दिए । त्यसै क्रममा बर्दिवास–निजगढको दुई सय किलोमिटरमध्ये ३५ किलोमिटरभन्दा बढीको ट्र्याक खोलिसकिएको र पुलहरूसमेत बनिसकेको जानकारी गराए । समितिमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री महासेठले सो जानकारी दिए ।
यसैगरी मन्त्री महासेठले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिएको र निर्माण कम्पनीसँग सम्झौता गर्न मात्र बाँकी रहेको बताए । उनले सो आयोजना जापान सरकारको ऋण सहयोगमा बन्न लागेको र निर्माणको जिम्मा पनि जापानी निर्माण व्यवसायीलाई दिइने जानकारी दिए । उनले भने, “यसको अन्तिम टुङ्गो लगाउन भने बाँकी नै छ । ”
यस्तै मन्त्री महासेठले टोखा–खहरे–गुर्जुभञ्ज्याङको काम अगाडि बढेको बताए । उनले भने, “टोखा–खहरे सुरुङमार्गको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाताहरूको छनोट प्रक्रिया सुरु गरिसकिएको छ । ” यसका लागि बजेट छुट्याइएको र आर्थिक वर्ष २०७६÷७७ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने जानकारी गराए ।
अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र कभर्ड अन्डरपास गरेर ललितपुर, भक्तपुर र काठमाडौंँ तीनकुनेतिरबाट आउने÷जाने गरी कभर्ड अन्डरपास बनाउन जाइकालाई प्रस्ताव गरिएको उनले जानकारी गराए । उनले भक्तपुरतर्फबाट आउने सवारी साधनलाई मनोहरा पुलबाट डाइभर्सन बनाइसकिएको, बेलिब्रिज जडान भइरहेको र केही दिनमा तयार हुने बताए ।
बीपी लोकमार्ग खुर्कोट चियाबारीको प्रगतिका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री महासेठले बजेट व्यवस्थापन गरिसकेको र दु्रत गतिमा काम अगाडि बढाउँदै गरेको जानकारी गराए । बीपीनगर–खुटिया–दिपायल खण्डको सुरुङमार्ग अध्ययन र डीपीआरका लागि बजेट छुट्याइएको जानकारी उनले दिए ।
गणेशमान सिंह मार्ग थानकोट–चित्लाङ खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा रातो किताबमा आइसकेको र त्यसको सम्भाव्यता अध्ययन र डीपीआर यसै वर्ष सुरु हुने उनले बताए । उत्तर–दक्षिण नदी करिडोरको भौतिक प्रगति भइरहेको छ । अधिकांश कोरिडोरको ट्र्याक खोल्ने काम दु्रत गतिमा अगाडि बढेको जानकारी उनले गराए ।
कर्णाली करिडोरको कुल लम्बाइ २९५ किलोमिटरमध्ये २२० किलोमिटर सडकको ट्र्याक खुलेको उनले जानकारी दिए । त्यसैगरी कोसी कोरिडोरको १६२ किलोमिटरमध्ये १४८ किलोमिटरको र कालीगण्डकी करिडोरको १४५ किलोमिटर नै ट्र्याक खुलिसकेको उनले जानकारी गराए । बेनी–जोमसोम कोरला खण्डको १८६ किलोमिटरमध्ये १७१ किलोमिटर ट्र्याक खोलिएको र आगामी आर्थिक वर्षसम्म यसको कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको स्पष्ट पार्दै उनले भने, “सबै कोरिडोरको ट्र्याक खोल्ने र पुल निर्माण सम्पन्न भएपछि कालोपत्रे गर्नेछौँ । ”
मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गको साँघुरो सडकलाई विस्तार गर्ने कार्य सुरु भएको छ भन्दै पहिलो चरणमा बुटबल–नारायणघाट सडक खण्डलाई चौडा पार्ने काम थालिसकेको बताए । मन्त्री महासेठले २५ वर्षदेखि कायम सिन्डिकेट अन्त्य भएको बताए । उनले भने, “सङ्घ समितिको आधिपत्य थियो, रुट परमिट पनि सरकारले दिन सक्ने अवस्था थिएन । अब तोडियो । ”
नेपालको यातायातलाई व्यवस्थापन गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको जानकारी दिँदै मन्त्री महासेठले मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकिएको र संसद्मा पठाउने तयारी गरिरहेको पनि जानकारी गराए ।

गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्