दाङबाट माधव नेपालले भने– ‘विदेशमा जन्मेकालाई राष्ट्रप्रमुख बनाउने गरी संविधान संशोधन हुँदैन’


१२  असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् ।

नेकपा (एमाले) दाङको १२ औँ जिल्ला अधिवशनको उद्घाटन समारोहलाई बुधबार दाङमा सम्बोधन गर्दै नेता नेपालले यस्तो चेतावनी दिएका हुन् । २००६ सालदेखि  नेपालको राजनीतिमा भारतले अनावश्यक हस्तक्षेप गरेको समेत उनले आरोप लगाए  । ‘भारतले २००६ सालदेखि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिहेको छ,’ उनले भने ‘हाम्रो देशको समस्या समाधान गर्न हामी आफैं सक्षम छौं,  भारतले हस्तक्षेप गर्न जरुरी छैन् ।’

कांग्रेस र माओवादीले भारतको दवावमा अंगिकृत नागरिकता लिएकालाई राष्ट्र प्रमुख बन्न पाउने गरी संविधान संशोधनको तयारी गरेको भन्दै उनले त्यो षड्यन्त्र एमालेले निस्तेज पार्ने बताए । ‘अंगिकृत नागरिकता अन्य मुलुकबाट आएर नेपालमा बसोबास गरेकालाई दिइन्छ,’ उनले भने  ‘विदेशमा जन्मेकालाई राष्ट्र प्रमुख बनाउने गरी संविधान संशोधन गर्न एमाले तयार छैन् ।’

नेता नेपालले संविधानलाई कार्यान्वयन गर्न सत्ता साझेदार नै तयार नभएको दाबी गर्दै संविधान जोगाउन एमाले ढाल बनेर अघि बढ्ने बताए । संविधानको रक्षा एमालेले मात्रै गर्न सक्ने पनि उनले बताए । उनले जंगलको माओवादीलाई एमालेले सिंहदरबार छिराएको दाबी गदैं अहिले माओवादी छिमेकी मुलुकको बुई चढेर राष्ट्रिय हित विपरीत काम गर्न खोजेको बताए ।

उनले हरेक ९ महिनामा सरकार परविर्तन गर्नाले मुलुक सम्बृद्ध हुन नसकेको भन्दै स्थायी सरकार बनाउनका लागि आगामी चुनावमा एमालेलाई जिताउन आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष युवाराज ज्ञवालीले पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन एमाले लागिरहेको बताए । उपमहासचिव विष्णु पौडेलले एमालेले पाँच वर्ष स्थायी सरकार चलाउन पाए देशले काँचुली फेर्ने बताए ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलले देश र जनातका पक्षमा काम गर्न सक्ने पार्टी एमाले मात्रै भएको दाबी गर्दै मधेसका जायज माग पूरा गर्न एमाले तयार भएको बताए । उनले मधेसका माग काठमाडौं बाटै पूरा हुने  भन्दै मधेसी नेता दिल्लीको शरण पर्नु गलत भएको टिप्पणी गरे । पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले केही पार्टीले एमालेलाई मधेस बिरोधीको रुपमा चित्रीत गरेको आरोप लगाउँदै एमाले सबै भुगोल र जातजातीको साझा फूलबारी भएको बताए ।

अध्यक्षमा तीनजना आकांक्षी

बुधबारदेखि सुरु अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षका आकांक्षी तीनजना छन् । प्रदेश नम्वर पाँचका सदस्य टिकाराम खड्का, वर्तमान सचिव हुकुम बस्नेत र संगठन विभाग प्रमुख हिराचन्द्र केसी चुनावी मैदानमा छन् । अध्यक्षका आकांक्षी प्रदेश नम्वर पाँचका सदस्य खड्काले पार्टीलाई गुटबन्दी मुक्त गर्न र आगामी चुनावमा एमालेलाई दाङमा पहिलो शक्ति बनाउन आफू अध्यक्ष बन्न खोजेको बताए । सचिव बस्नेतले पार्टीलाई संस्थागत तरिकाले चलाउन आफुले अध्यक्षमा उमेद्वारी दिने बताए ।

त्यसैगरी संगठन विभाग प्रमुख केसीले दाङमा एमालेको संगठन मजबुद बनाएर हरेक निर्वाचनको नतिजा एमालेको पक्षमा पार्नका लागि आफूले अध्यक्षमा उमेद्वारी दिने बताए । अध्यक्षका आकांक्षी मध्य खड्का र केसी बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन भने बस्नेत अध्यक्ष केपी ओली समूहका हुुन् ।

अध्यक्षमा तीनजना मात्रै आकांक्षी भएपनि सचिवमा भने धेरैको दावी छ । उपसचिव वामदेव खनाल, सचिवालय सदस्य मनोहर बुढाथोकी, देवराव विक, सुरामणी बेल्वासे, कुलबहादुर केसीलगाएतका आधा दर्जनले सचिवमा उमेद्वारी दिने तयारी गरेका छन् ।

विभिन्न पदमा उमेद्वारी दिनेको होडबाजी चले पनि वैकल्पिक केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज मेटमणी चौधरीले दाङमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिने दावी गरे । उहाँले भने– ‘दाङ एमालेमा नेतृत्व छनोट गर्न यसपटक चुनाव हुँदैन । हामी सर्वसम्मत नेतृत्व चयन गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्