दाङमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, सयौँ प्रभावित


दाङ, १४ जेठ । दाङको शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप अझै सम्म नियन्त्रणमा आउन सकेको छैन । पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडा पखालाले प्रकोप रुप लिएको छ ।

स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । पुनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । आज सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् ।

झाडा पखाला फैलिएपछि स्थानीय स्कुल बन्द गरिएको छ । वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द छन् ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले झाडापखालाका बिरामीको उपचार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्