दिल्लीमा प्रचण्डले रेशम चौधरीसँग हात मिलाएको समाचारले बालुबाटारमा हंगामा


४ असोज । भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त नहुने आचार्यले दाबी गरेका छन् ।
आचार्यका अनुसार प्रधानमन्त्री दाहालले हात मिलाए पनि चौधरीसँग कुनै कुरा नगरेको दाबी गरेका छन् । तर, मंगलबार केही सञ्चार माध्ययमले भने चौधरीसँग प्रचण्डले हात मिलाएको तस्बिर प्रकाशन गरेका थिए । समाचारमा आफूलाई आरोपितको सूचीबाट हटाउन प्रचण्डलाई आग्रह गरेको समेत समाचार प्रकाशित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्