दिल्लीमा हिंसा :पुलिस अधिकारीसहित ४ जना सर्वसाधारणको मृत्यु, २५ घाइते


एजेन्सी : दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंसा भएको छ ।

समाचार एजेन्सीका अनुसार उक्त हिंसामा अहिलेसम्म ३ सर्वसाधारणको र एक पुलिस अधिकारी मृत्यु भएको छ । दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन् ।

तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन ।

सोमबार दिउँसो र बेलुका भएको हिंसाका घटनामा ४ जनाको मृत्यु भएको छ । जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गोली लागेका कारण मृत्यु भएको छ । पुलिस अधिकारीले बीबीसीसँगको कुराकानीमा गोली सुल्तानको खुट्टामा लागेको तर अत्यधिक रक्तश्राव भएका कारण उनको मृत्यु भएको बताइएको छ ।

यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृत्यु भएको छ । शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन् । उनका भाइ राशिद अल्वीले बीबीसीलाई भने, ‘शाहिद अटो चलाउँथे । दंगाका बेला उनको पेटमा गोली लाग्यो । उनको शवलाई पोस्टमार्टमका लागि जीटीबी अस्पताल पुर्याइएको छ ।’
शाहिदको विवाह दुई महिना अघि मात्रै भएको थियो । उनी दिल्लीको मुस्तफाबाद इलाकामा भाडामा बसिरहेका थिए । जीटीबी अस्पतालमा भएका बीबीसी संवाददाता प्रशान्त चहलका अनुसार अस्पतालमा २५ जना घाइतेलाई भर्ना गरिएको छ ।

अस्पताल स्रोतले प्रशान्त चहललाई भने अनुसार २५ जनालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको छ । तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ । रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृत अवस्थामा अस्पताल पुर्याइएको थियो । घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ ।

जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ । उक्त हिंसामा एक हेड कन्सटेबलको पनि मृत्यु भएको छ । मारिएका हेड कन्सटेबलको नाम रतन लाल हो । थुप्रै इलाकामा ढुङ्गा हानाहान र आगलागीपछि स्थिती तनावग्रस्त भएको छ ।

हज्जारौंको संख्यामा भएको भीडमाथि नियन्त्रण पाउनका लागि पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको बताइएको छ । पुलिसको लाठीचार्ज पछि भाडदौडको स्थिती सृजना भएको थियो । पुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आगजनी गरिएको छ । जुन इलाकामा हिंसा भएको हो त्यहाँ मुसलमानको बस्ती ठूलो छ ।

हिंसालाई ध्यानमा राखेर दिल्ली मेट्रोले सुरक्षाका कारण ५ स्टेशन बन्द गरेको छ । यो स्टेशन जाफराबाद, मौजपुर-बाबरपुर, गोकुरलपुरी, जोहरी एन्कलेव र शिव विहार हुन् । बाबरपुर-मौजपुर मेट्रो स्टेशनमा भारी मात्रामा ढुङ्गा हानाहान भएको छ । यहाँ कम्तीमा २ वाहनमा आगलागी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्