दुई कोरियाबीच उच्चस्तरीय वार्ता


२६ पुस । उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तरकोरियाली वार्ता दक्षिण कोरियामा सुरु भएको छ । यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा सुरु भएको जनाइएको छ ।

आपसमा मित्रवत सम्बन्ध रहन नसकेको यी दुई कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गगलबारदेखि पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता सुरु भएको हो । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले दिएको जानकारी अनुसार सो वार्ता टोलीमा दुवै देशका तर्फबाट पाँच÷पाँच जना सदस्य रहेका छन् । सो वार्ता टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हटलाइन कम्युनिकेशन) मार्फत गएको शनिबार र आइतबार पठाइएको हो ।

सो वार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारी सहभागी छन् । त्यसैगरी उत्तर कोरियाको तर्फबाट एक एजेन्सी, शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सुन गाउनको नेतृत्वमा पाँच जना सदस्य रहेका छन् । उनीहरुको नाम गएको आइतबार उत्तर कोरियाले सार्वजनिक गरेको हो ।

दुवै देशका तर्फबाट भएको यो सहभागिताका कारण यस वार्तालाई उच्चस्तरीय वार्ता भनिएको हो । दक्षिण कोरियाको प्रस्तावमा सुरु भएको यस वार्ता मङ्गलबार बिहान १० बजेबाट सुरु भएको बताइएको छ । दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार मङ्गलबारका लागि दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको थियो । सोही बमोजिम मङ्गलबार बिहानबाट यो वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त नगरमा रहेको पिसफुल हाउस (शान्तिपूर्ण भवन) मा सुरु भएको सो वार्तामा बस्नुअघि उत्तर कोरियाको वार्ता टोलीका प्रमुख रिले भने– ‘यो महत्वपूर्ण वार्ता हो र यसका माध्यमबाट आगामी दिनमा पनि यसरी नै द्विपक्षीय वार्ताहरु अघि बढ्न सकुन् भनेर कामना गर्न सकिन्छ ।’

त्यसैगरी सो वार्तामा बस्नुपूर्व दक्षिण कोरियाली वार्ता टोलीका प्रमुख मन्त्री चो ले यस वार्तामा आफूहरु बडो धैर्यतापूर्वक बस्ने र यस वार्ताबाट आगामी शीतकालीन ओलम्पिक खेललाई एउटा शान्तिको पर्व कसरी बनाउने भन्ने बारेमा सोचेर काम गर्ने प्रतिक्रिया दिएका थिए ।

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि यसरी यो वार्ताको परिस्थिति निर्माण भएको हो । उनले सो सम्बोधनमार्फत दक्षिण कोरियाले गरेको उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने बताएका थिए ।

त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेबु्रवरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ । यस वार्तामा सो ओलम्पिक खेलका बारेमा व्यापक मात्रामा छलफल हुने जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताको तयारी व्यापक र द्रूत गतिमा गर्न निर्देशन दिएका थिए ।

कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणहरुबाट उत्पन्न परिस्थितिका विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको भए पनि यस विषयमा दुवै पक्षबाट आधिकारिक रुपमा भने केही आएको छैन ।

महासचिव गुथ्रेस र अमेरिकी राष्ट्रपतिद्वारा स्वागत

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको स्वागत गरेका छन् । उनले हालै सम्वाददाताहरुसँग भनेका थिए– ‘म त सधैँ वार्ताकै पक्षमा छु, सबै समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्नेमा म विश्वास गर्छु ।’

दुई कोरियाको बीच तय भएको सो वार्ताको स्वागत गर्दै ट्रम्पले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा रहेको बताए ।

त्यसैगरी पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको विषयले आफू खुशी भएको धारणा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्