दुई छिमेकी देशका राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने निर्णय


११ कात्तिक । सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

दक्षिणी छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिक १७ गतेदेखि तीन दिने नेपाल भ्रमणमा आउँदै छन् । तर, चीनका राष्ट्रपतिले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको भेटका बेला बताए पनि अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

मन्त्रिपरिषद्को बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । यस्तै थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ ।

तर, संविधान संशोधन र राजनीतिक सहमतिबारे पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सो विषय मन्त्रिपरिषद्मा छलफल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्