‘दुई छिमेकी भारत र चीनबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्नुपर्छ’


२४ कात्तिक । ‘द डेभलपमेण्ट इन्टिच्युट’ले  त्रिदेशीय साझेदारीको वहसलाई अघि बढाएको छ । आर्थिक विकास, सुशासन र रणनीतिक अध्ययनका विषयमा काम गर्दै आएको यो संस्थाले त्यस क्षेत्रका विज्ञहरुसहित राजधानीमा एक दिने कार्यशालाको आयोजना गरेर वहसलाई अघि बढाएको हो ।

‘त्रिदेशीय साझेदार रणनीतिको वहस अगाडिको हिमालयनपार सहकार्य’ विषयक कार्याशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ उपस्थित भएर नेपालले दुई ठूला छिमेकी देशबाट आर्थिक लाभ लिन सक्नुपर्ने बताए ।  उनले कार्यक्रममा  चीन, भारत र नेपालबीच त्रिपक्षीय ऊर्जा साझेदारी आवश्यक रहेको पनि बताए ।  उनले द्रुत गतिमा आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी भारत र चीनबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्नुपर्नेमा पनि जोड दिए ।

भारतको गोवा सम्मेलनमा भारत र  चीनका प्रधानमन्त्री सँग भेट गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपाल जस्तो अल्पविकसित मुलुकले त्रिदेशीय साझेदारबाट आर्थिक लाभ लिन प्रभावकारी कदम चाल्नु पर्ने बताए । त्यसका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।

उनले दुई छिमेकी देशसँगको नेपालको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यी देशको व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिए । उनले नेपाल र छिमेकी मुलुकबीच साँस्कृतिक सम्बन्ध रही आएको भन्दै धार्मिक पर्यटनका माध्ययमबाट पनि जोड्न सकिने राय व्यक्त गरे । उनले मानसरोवरदेखि पसुपति र लुम्बिनीसम्म धार्मिक पर्यटनका माध्ययमबाट जोड्न सकिने दाबी पनि गरे ।  ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निकै संभावना रहेको भन्दै उनले यसको माध्ययमबाट पनि अघि बढ्न सकिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल प्राकृतिक रुपमा सम्पन्न भए पनि राजनीतिक स्थितिरता नभएकाले समस्या भएको बताए ।

‘आर्थिक विकासको संभावना छ । नेपालमा दक्षिण एशियाकै जलविद्युतमा बढी संभावित मुलुक भएकाले यसको प्रर्वधनका लागि ठूलो लगानी र प्रविधि भित्र्याउन सकिन्छ,’ उनले भने, ‘तर यसका लागि राजनीतिक स्थिरता आवश्यक छ ।’ महतले नेपालले पर्यटनको प्रर्वद्धन गर्न सक्ने हो भने दक्षिण एसियामै पर्यटकीय ‘हव’ का रुपमा विकास गर्न सकिने जिकिर गरे । पर्यटन, जलस्रोत, पूर्वाधार विकास जस्ता कुरामा नेपालले अझै धेरै गर्न सक्ने उनको भनाइ थियो ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले पनि त्रिदेशीय साझेदारी नेपालको विकासको मूल आधार भएको बताए । एमाले नेता एवं  पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले हिमालयनपार सम्बन्ध इतिहासदेखि नै प्रगाढ रहेको भन्दै नेपाल बुद्ध, जानकी र अरनिकोको देश भएकाले त्यो सम्बन्धलाई आज एकाकार गर्न जरुरी रहेको बताए । ‘द डेभलपमेण्ट इन्टिच्युट’ का अध्यक्ष समेत रहेको अधिकारीले  नेपालले छिमेकी मुलुकहरुको आर्थिक विकासलाई नेपालले दुई देश जोड्ने व्यापारिक ‘हव’को रुपमा विकास गर्न सकिने पनि बताए ।

एक वर्ष अघि स्थापना भएको यो संस्थाले अहिलेसम्म त्रिपक्षीय साझेदारी बहसमा मात्र सिमित भएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्न यस्तो कार्यशालाको आयोजना गरेको बताएको छ । ‘त्रिपक्षीय साझेदारीलाई उत्तर–दक्षिण मात्र सिमित राख्ने होइन अब पूर्व–पश्चिम पनि फैलाउनुपर्छ भनेर यो वहस सुरु गरेको हो,’ संस्थाका कार्यकारी निर्देशक लेखनाथ पौडेलले भने, ‘अब नेपाल,भारत, म्यान्मार, भुटान जस्ता देशलाई पनि आधार मानेर अघि बढ्नुपर्छ ।’

उनले भारतका अतिविपन्न राज्यहरु उत्तराखण्ड, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, चीनका अतिविपन्न तिब्बत,युनान र सिचुवानसँगै हिमाली देशहरु नेपाल, भुटान, म्यान्मार, बंगलादेशदेखि अफगानिस्तानसम्मको सहकार्य आवश्यक भएको बताए ।

यस अघि पनि चीन, भारत र नेपालको सहकार्य,  नेपालको परराष्ट्र नीतिलगायतका विषयमा कार्यशाला गरेको यो संस्थाले शान्ति, स्थायित्व र स्थिरतामार्फत संबृद्धि दिलाउन सकिने बताउँदै आएको छ । बुधबारको कार्यशालामा पनि करिब तीन दर्जन आर्थिक क्षेत्रका विज्ञहरु, नीति–निर्माता र राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्