दुई मन्त्रालयमा देउवाका पीए भानुको हालीमुहाली, पीएकै कारण बदनाम बन्दै श्रम मन्त्रालय


४ कार्तिक  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने रमेश लेखकले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो मन्त्रालयमा अहिले मन्त्री लेखकभन्दा पनि देउवाका भतिजा भानु देउवा हाबी हुन थालेका छन् ।

मन्त्रालयमा देउवाको भतिजा हाबी भएपछि आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउन सडक, पुल, बाटोहरुको समष्टिगत विकास, विस्तार, प्रबद्र्धन र सम्बद्र्धन गरी राष्ट्रिय यातायात प्रणालीको विकास गर्ने सो मन्त्रालयका कामहरु प्रभावित हुँदै गएको बताइन्छ । त्यति मात्र होइन, मन्त्रालयको विशिष्ठ पदमा रहेका व्यक्तिहरुले समेत आफ्नो जिम्मेवारीलाई बिर्सेर कमाउनेतर्फ ध्यान दिएकाले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा नै अवरोध सिर्जना हुने निश्चितजस्तै भएको छ । पूर्ववर्ति केपी ओली नेतृत्वको सरकार विघटन भएपछि कांग्रेसको रोजाइमा परेको उक्त मन्त्रालयमा अहिले मन्त्री र सडक विभागका महानिर्देशकसँगै कांग्रेस सभापति देउवाका भतिजा भानुसम्मको चलखेलले निकै ठूलो समस्यामा देखा पर्न थालेको हुँदा त्यहीका कर्मचारीहरुले गुनासो गर्न थालेका छन् ।

अर्कोतिर, लेखकले भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएपछि सचिवको लहरमा रहेका देवेन्द्र कार्की मुखमै आएको सचिव पद छाडेर सडक विभागको महानिर्देशक बनेपछि त्यहाँ झन् बढी आर्थिक चलखेल सुरु भएको स्रोतको दाबी छ । यसअघि पनि दुई वर्ष त्यही जिम्मेवारीमा रहेर सडक विभागमा काम गरेका कार्की मन्त्रालयमा तानिएका थिए । कार्कीलाई मन्त्रालयमा तानेपछि उनको ठाउँमा माधव कार्कीलाई पठाइएको थियो । माधवको पनि समयावधि सकिएपछि फेरि मन्त्रालयमै तानिएका थिए ।

लेखक मन्त्री बनेसँगै फेरि सडकै डिजी बन्ने अवसर पाएका कार्कीले अहिले सडकमा मनपरी गरेको गुनासो बाहिर आउन थालेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका पूर्वसचिव अर्जुन कार्कीका सहोदर नाताका देवेन्द्रले पहिला पनि डिजी हुँदा राम्रो कुम्ल्याउने मौका पाएको स्रोतको दाबी छ । ‘सडकको डिजी हुँदा पहिला पनि राम्रो कुम्ल्याउन सफल कार्की वरिष्ठ सहसचिव हुन्,’ मन्त्रालयकै एक कर्मचारीले भने ‘अहिले बढुवा हुँदा उनी सचिव बन्ने सम्भावना थियो । तर, मुखमा आएको सचिव पद छाडेर डिजी खान जानुको पछाडि कुम्ल्याउने ध्याउन्ना नै रहेको देखिन्छ ।’

दोलखाका तीन कार्कीको भौतिकमा सेटिङ

अर्जुन कार्की, देवेन्द्र कार्की र माधव कार्की दोलखाका निवासी हुन् । उनीहरु एउटै जिल्लाका निवासी मात्र होइनन्, उनीहरुबीच पारिवारिक नाता पनि रहेको छ । जानकारहरुका अनुसार तीनै कार्की सबैतिर सेटिङ मिलाएर मन्त्रालयबाट राम्रै आम्दानी गर्न सफल भएका छन् ।

सडकमा कार्की र देउवाको खाने दाउ

२२ अर्बको लगानीमा अहिले हेटौँडा–धरान–चतरा मार्ग निर्माणको तयारीमा छ । सो सडकका लागि टेण्डर प्रक्रियासमेत अघि बढेका बेला कांग्रेस सभापति देउवाका भतिजा भानुसँगै देवेन्द्र कार्कीले निकै चलखेल गरेको बुझिएको छ । त्यस चलखेलमा मन्त्री लेखक पनि मुछिएको स्रोतको दाबी छ । कांग्रेस सभापति देउवाको स्वकीय सचिवसमेत रहेका भानु अहिले देउवाका पीएभन्दा पनि कांग्रेसले सम्हालेका मन्त्रालयमा सेटिङ मिलाउनेमा बढी केन्द्रित भएको बुझिएको छ ।

सात जनालाई मात्र टेण्डर

देउवा र कार्कीकै मिलेमतोमा हेटौँडा–धरान–चतरा मार्ग निर्माणका लागि सात जानलाई मात्र टेण्डरको अनुमति दिएको र त्यसमा पनि सबै देउवा र कार्कीकै आसेपासे रहेको बुझिएको छ । टेण्डर हाल्ने मध्येका एक जनाले टेण्डर आफूले नै पाउनुपर्ने भन्दै सर्वोच्चलाई गुहारेपछि उनलाई समेत कार्की र देउवाले पैसाको बिटा थमाएर थामथुम पारेको बुझिएको छ ।

श्रममा पनि देउवाकै हालीमुहाली

सडकको ठेक्कामा क–कसलाई टेण्डर हाल्न दिने, क–कसलाई पार्ने र कति रकम असुल्नेसम्मका सबै कामको जिम्मेवारी अहिले भानुको थाप्लोमा आएको छ । त्यति मात्र होइन कांग्रेसकै वृद्ध नेता सूर्यमान गुरुङको अह्रनखटनमा समेत देउवा नै हाबी भएको स्रोतको दाबी छ ।

सचिव विदेशमा, मन्त्रालय पीएको हातमा

भौतिक मात्र होइन श्रम तथा रोजगार मन्त्रालयमा समेत भानुकै हालीमुहाली भएपछि अहिले कर्मचारी मन्त्रालयका सचिव लक्ष्मण मैनालीसँग भन्दा पनि देउवाका भतिज भानु र बयोवृद्ध मन्त्री गुरुङका पीए डिल्ली गुरुङसँग थर्कमान हुने गरेका छन् । पहिला म्यानपावर व्यवसायी टेकबहादुर गुरुङ मन्त्री भएपछि म्यानपावरबाट विभिन्न बहानामा पैसा उठाउन सहज होस् भन्नका लागि देउवाकै भतिजा भानुको प्रयासमा श्रम मन्त्रालय छिरेका मैनालीलाई अहिले मन्त्रालयभन्दा पनि विदेश प्यारो भएपछि उनले पैसा उठाउने अख्तियारी भानुलाई नै दिएको बुझिएको छ । स्रोतका अनुसार मैनालीकी पत्नी पीआरवाला हुन् । पहिला मैनाली पनि पीआरवाला नै भए पनि लालबाबु पण्डितले मन्त्री भएका बेला सरकारी जागिरेलाई दुईमध्ये एक रोज्न लगाएपछि हतार–हतार उनले पीआर त्यागेको हल्ला अहिले पनि मन्त्रालयका कर्मचारीबीच गाइँगुइँ चल्ने गरेको छ ।

दसैँ मान्न क्यानडा गएका मैनाली अहिलेसम्म नफर्किएपछि अहिले मन्त्रालयमा देउवा र मन्त्रीका पीए गुरुङको हालीमुहाली भएको बुझिएको छ । मन्त्री गुरुङका विश्वासपात्र डिल्ली पहिला कांग्रेस नभए पनि पछि असली कांग्रेस बनेका हुन् । कांग्रेसीहरुकै नजरमा त्यति योग्य नठहरिएका गुरुङको चर्तिकलाले अहिले मन्त्रालय नै गन्हाउन थालेको बुझिएको छ ।

गुरुङको लीलापछि ड्राइभरको राजीनामा

गुरुङ मन्त्रीको पीए बनेर मन्त्रालय छिरेपछि अहिले ‘…लाई भन्दा देख्नेलाई लाज’ भने जस्तो भएको छ । पीए गुरुङले अहिले मन्त्रालयकै एक कर्मचारीसँग निकै राम्रो हिमचिम बढाएपछि मन्त्रालयमा सबैले उनको कुरो काट्न थालेका छन् । स्रोतका अनुसार पीए गुरुङको हर्कतबाट दिक्क भएका एक ड्राइभरले त गाडी चलाउन नसक्ने भन्दै राजीनामा नै बुझाएको चर्चा पनि अहिले मन्त्रालयभित्र चलेको छ ।

वैरोमा पनि उस्तै हालत

श्रम मन्त्रालयको महत्वपूर्ण अङ्गका रुपमा रहेको वैदेशिक रोजगार विभागमा पनि अहिले देउवाका पीए भानुदेखि मन्त्रीका पीए डिल्लीसम्मको निकै राम्रो चलखेल हुने गरेको बुझिएको छ । विभागका डीजी शत्रुधनप्रसाद पुडासैनीको भन्दा पनि भानु र डिल्लीको बढी हालीमुहाली हुने गरेको स्रोतको दाबी छ । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका अधिकृत रमेश लामिछानेलाई रंगेहात पक्राउ गरेको थियो ।

उनलाई दर्ता प्रमाणपत्र दिने क्रममा वैदेशिक रोजगार व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो । उनले १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको भनिए पनि उनी १० लाखभन्दा बढी रकम असुल गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । पछिल्लो समय कारबाहीमा परेका १८ म्यानपावरलाई ‘क्लिनचीट’ दिने खेलोमेलोमा पनि डीजी पुडासैनी र पीएहरु देउवा र गुरुङको मिलेमतो रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्